दाङ । दाङमा तिहारको एक साताको अवधिमा १४ वटा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार कात्तिक २० गतेदेखि २६ गतेसम्म जिल्लाका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुने तीनै जना पुरुष रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा घोराही उपमहानगरपालिका–१२ का ४० वर्षीय सेरमान घर्ती, लमही नगरपालिका–५ का ७० वर्षीय सोर बुढा मगर र गढवा गाउँपालिका–७ मानपुर निवासी ३० वर्षीय रामकुमार चौधरी मृत्यु भएको छ । दुर्घटनामा २५ जना पुरुष, एक महिला र तीन बालबालिका गरी २९ जना घाइते भएका छन् ।
यसैबीच, तिहार अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १२९ जना सवारी चालक कारबाहीमा परेका छन् । नियमविपरीत सवारी चलाउने चालकबाट सात दिनको अवधिमा एक लाख २४ हजार ५ सय रुपैयाँ जरिवानासमेत असुल गरिएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।


























