दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा भोलिदेखि संचालन हुन लागेको महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ ।
विपन्न नागरिकको उपचार सहायताका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले वडा नम्बर १८ ले संचालन गर्न लागेको महायज्ञ वडा कार्यालयदेखि पश्चिमतर्फको बगैँचा मैदानमा संचालन हुन लागेको हो ।
मञ्च व्यवस्थापन, दाता पहिचान, सचिवालय व्यवस्थापन लगायतका काम भइसकेको वडा अध्यक्ष माधव वलीले बताउनुभयो । उहाँका अनुसार भोलि दिउँसो साढे १२ बजे वडा कार्यालयको गेट अगाडी सबै टोलबाट सहभागी हुने र वडा कार्यालयको गेटदेखि शुरु हुने कलशयात्रा र्याली उत्तरतर्फ रहेको विश्वम्बर धाम मन्दिर परिक्रमा गरी हेमन्तपुर बैरागी चोक भएर महायज्ञस्थलमा आउने छ ।
दिउँसो १ बजे तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले महायज्ञको उद्घाटन गर्नुहुने वडा अध्यक्ष वलीले बताउनुभयो । वडा अध्यक्ष वलीले वडाका विपन्न, असहाय तथा बेसहारा नागरिकहरुको उपचार सहायताका लागि अक्षयकोष स्थापनार्थ महायज्ञ संचालन गर्न लागिएको बताउनुभयो ।
उहाँले महायज्ञबाट न्यूनतम करिब १ करोड संकलन गर्ने लक्ष्य राखिएपनि कोषमा रकम बढाउँदै लैजान सकिने बताउनुभयो । महायज्ञको प्रमुख कथावाचकमा स्वर्णपदक विभुषित पण्डीत अमृतशरण देवाचार्य रहनुहुनेछ ।


























