दाङ, २ कार्तिक । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको केन्द्रिय आयुर्वेद विद्यापिठका विद्यार्थी डा. केशव न्यौपानेलाई हिमालय वेलनेस कम्पनिले प्रतिष्ठित ‘जीवका अवार्ड’ प्रदान गरेको छ ।
डा. न्यौपानेले बिएएमएसको अन्तिम वर्षको परीक्षामा प्रथम स्थान हासिल गरेवापत यो अवार्ड प्राप्त गर्नुभएको हो ।
आयुर्वेद शिक्षामा उत्कृष्टता प्रदर्शन गर्ने विद्यार्थीलाई प्रदान गरिँदै आएको यो पुरस्कार यस वर्ष डा. न्यौपानेको नाममा समर्पित गरिएको हो ।
सम्मान प्राप्त गरेपछि डा. न्यौपानेले भन्नुभयो–‘जीवका पुरस्कार’ प्राप्त गर्न पाउँदा म अत्यन्त सम्मानित महसुस गरेको छु । मेरो शैक्षिक यात्रामा निरन्तर मार्गदर्शन र साथ दिनुहुने गुरुजन, सहपाठी र परिवारप्रति म हृदयदेखि आभारी छु । यो सम्मान आयोजना गर्नुहुने सम्पूर्ण आयोजक संस्थाप्रति पनि म हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
कम्पनीका प्रतिनिधिहरूका अनुसार डा. न्यौपानेले अध्ययनमा देखाएको लगनशीलता, अनुसन्धानप्रतिको रुचि र मानवसेवाप्रतिको प्रतिबद्धता अन्य विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ ।
उहाँका परिवारजनले पनि यो उपलब्धिलाई गर्वको विषय मानेका छन् । दिदी लक्ष्मी न्यौपानेले भन्नुभयो–‘कान्छोले बुवाको सपना साकार पार्दै परिवार र दाङ दुवैको नाम उज्यालो बनाएको छ । उसको लगन र सफलतामा हामी सबै गर्वित छौं ।’
डा. न्यौपानेले आयुर्वेद चिकित्सा क्षेत्रमा अझ अध्ययन र अनुसन्धानमार्फत समाज र देशको सेवामा योगदान पुर्याउने प्रतिबद्धता जनाएका छन्।












