दाङ । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका कारण विद्युत् लाइन काटिएका सबै उद्योगमा विद्युत् आपूर्ति सुचारु भएको छ । प्राधिकरणले निर्धारण गरेको कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता भुक्तान गरेपछि उद्योगमा विद्युत् आपूर्ति नियमित गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
दाङका दुई सिमेन्ट उद्योग सहित सबैले विद्युत महसुलको पहिलो किस्ता तिरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ दुधरासमा रहेको सोनापुर मिनरल एन्ड आयल प्रालि, घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको घोराही सिमेन्ट उद्योग, जगदम्बा स्टिल्स, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ, मिल्सले पहिलो किस्ता बुझाएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हिजो बुधबार यी उद्योगले कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता बराबरको रकम बुझाएका हुन् । सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बाफत ८६ लाख ३० हजार रुपियाँ बुझाएको हो ।
सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार रुपियाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरेर सोनापुर मिनरले पहिलो किस्ता ८६ लाख ३० हजार रुपियाँ बुझाएको हो । त्यसैगरी घोराही सिमेन्ट उद्योगले बुधबार पहिलो किस्ता बाफत एक करोड ८१ लाख ६१ हजार नौ सय ७६ रुपियाँ ४८ पैसा विद्युत् महसुल तिरेको छ । घोराही सिमेन्ट उद्योगको बक्यौता रहेको ५० करोड ८५ लाख ३५ हजार तीन सय ४२ रुपियाँको पहिलो किस्ता तिरेको हो ।
प्राधिकरणका अनुसार जगदम्बा स्टिल्सले ५ करोड ७२ लाख, अर्घाखाँचीले १ करोड ६० लाख, र त्रिवेणीले १ करोड १४ लाख रूपैयाँ तिरेको हो । प्राधिकरणले बक्यौता नबुझाएको भन्दै कात्तिक ४ र कात्तिक ७ मा २३ वटा उद्योगको बिजुली काटेको थियो ।
पछिल्लो पटक बक्यौता विवादका कारण २५ उद्योगको लाइन काटिएको थियो । तीमध्ये तीन उद्योगले नियमित महसुलसमेत नतिरेका कारण केही पहिले नै लाइन काटिएको थियो । डेडिकेटेड र ट्रङ्क लाइन महसुल बक्यौताका कारण मात्र अब कुनै पनि विद्युतको लाइन काटिएको अवस्था नरहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार काटिएका तीनमध्ये दुई उद्योग एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्ट उद्योगको नियमित महसुल नै भुक्तानी गरेका छैनन् भने उद्योग पनि पहिले नै बन्द थिए । त्यस्तै निगमले सिमेन्टले आफ्नो ट्रान्सफर्मर मर्मत नगरी उद्योग नै बन्द गरेको छ ।












