दाङ । दाङमा जेनजी आन्दोलनका क्रममा विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न २७ जना पक्राउ परेका छन् ।
जिल्लाको घोराही र तुलसीपुरमा रहेका अदालत कार्यालय तथा प्रहरी भवनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न २७ जना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङको नियमित पत्रकार सम्मेलनका क्रममा एसपी दिपक श्रेष्ठले अपराधिक गतिविधिमा संलग्नको खोजीका क्रममा अहिलेसम्म २७ जना पक्राउ परेको जानकारी दिनुभयो । उहाका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जना पक्राउ परेका छन् ।
दाङ जिल्ला अदालतको भवनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न तीन जना, इलाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला सरकारी वकिल कार्यालयको भवनमा संलग्नमा दुई/दुई जना, घोराहीस्थित भानुचोकमा रहेको प्रहरी विट तोडफोड, आगजनी र लुटपाटमा संलग्न एक जनालाई पक्राउ परेका छन् ।
यसैगरी, उच्च अदालत तुलसीपुर कार्यालय भवन र अस्थायी प्रहरी चौकी बसपार्कमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न सात जना पक्राउ परेका छन् ।
प्रहरी प्रमुख श्रेष्ठले उच्च अदालत तुलसीपुर कार्यालय भवनमा संलग्न चार जना र अस्थायी प्रहरी चौकी बसपार्कमा संलग्न तीन जना पक्राउ परेको बताउनुभयो । पक्राउ परेका २७ जनालाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको बताउनुभयो ।















