दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय बेड संचालन गरिने भएको छ । प्रतिष्ठानका रजिस्ट्रार डा. श्याम लम्सालले प्रतिष्ठानमा अहिले ३२६ शैया संचालन भएको र आगामी वर्षदेखि ४०० शैयामा संचालन गरिने बताउनुभयो ।
प्रतिष्ठानसंगको सहकार्यमा नेपाल पत्रकार महासंघ दाङ शाखाले बिहिबार आयोजना गरेको कार्यशालामा रजिष्ट्रार डा. लम्सालले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको वर्तमान अवस्था र चुनौतिको बारेमा प्रष्ट पार्नुभएको हो ।

उहाँले करिब २५ लाख जनसंख्यालाई स्वास्थ्य सेवा प्रदान गर्ने गरी प्रतिष्ठान स्थापना गरिएको बताउनु्भयो । उहाँले प्रतिष्ठानलाई अब ४०० शैया संचालनका लागि सबै मापदण्ड पूरा गरेको तर स्रोत सुनिश्चितता नहुँदा संचालन हुन नसकेको पनि बताउनुभयो । यसवर्ष स्रोत सुनिश्चित गरेर संचालन गर्ने बताउनुभयो ।
यसैगरी प्रतिष्ठानले माघ १ गतेदेखि मुटुको उपचार सेवा प्रदान गर्ने पनि उहाँले बताउनुभयो । यस्तै रोल्पाको होलेरी प्राथमिक स्वास्थ्य केन्द्र, दाङको बंगलाचुली अस्पताल, स्युजा स्वास्थ्य केन्द्रमा चिकित्सक खटाउन अध्ययन गरिदै गरेको बताउनुभयो ।
यस्तै ट्रामा सेन्टर चलाउन प्रदेश सरकारलाई प्रस्ताव गरिएको, बिमाको लागि छुट्टै काउन्टर संचालन गरिएको तर भुक्तानी समस्या रहेको, प्रतिष्ठानले अतिक्रमित संरचना हटाउने, जेनजी आन्दोलनपछि मनोसामाजिक परामर्श कार्यक्रम संचालन गरेको बताउनुभयो ।
यस्तै टाढाको बिरामीलाई सहजताका लागि घरमै बसेर टिकट लिन सकिने व्यवस्था गरिन लागेको पनि रजिष्ट्रार लम्सालले बताउनुभयो । उहाँले रिपोर्ट पनि घरमै प्राप्त गर्न सकिने र रोल्पा, रूकुमपूर्व, रूकुम पश्चिममा सेवा विस्तार गर्न संभाव्यता अध्ययन गरिन लागेको बताउनुभयो ।
कार्यक्रममा सहप्राध्यापक डा.सुरेश रसाइली चिकित्सकका लागि आचारसंहिता, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष डा. सुदीप गौतमले स्वास्थ्य पत्रकारिताको बारेमा प्रशिक्षण गर्नुभएको हो । उपाध्यक्ष ओपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव जे एन सागरले गर्नुभएको हो ।















