२०८३ बैशाख १७ गते बिहिवार

बाघले लगातार आक्रमण गर्न थालेपछि स्थानीय त्रसित

सल्यान । बाघले मानिसलाई लगातारजसो आक्रमण गर्न थालेपछि सल्यानको कालिमाटी आसपासका बासिन्दा त्रसित बनेका छन् । नरभक्षी बाघले जिल्लाको कालिमाटी गाउँपालिका– ५, ६, ७ र सुर्खेतसित सिमाना जोडिएका बस्तीमा आक्रमण गरेर लगातार तीन जनाको ज्यान लिएपछि त्रास बढेको हो ।

बाघको आक्रमणबाट पुस २३ गते सुर्खेतको भेरीगंगा–५ गेरुवानीकी ५७ वर्षीया गंगादेवी सारुमगर, पुस २५ गते कालिमाटी–७ की ४२ वर्षीया धनसरी रावत र पुस २८ कालिमाटी–६, हात्तीढुंगाका वर्ष ६५ चन्द्रबहादुर खप्तडीको मृत्यु भएको हो ।

घाँसदाउरा गर्न गएका बेला आक्रमणमा गरेर गंगादेवी र धनसराको ज्यान लिएको थियो। घट्टबाट पिठो पिसाएर फर्किरहेका बेला खप्तडीको ज्यान लिएको थियो। नरभक्षी बाघले स्थानीय किसानका पशु चौपाया समेत मारिरहेको छ ।

निकुन्जबाट खटिएको नेपाली सेनाको टोलीले बाघ नियन्त्रणमा लिन सकेको छैन । जसले गर्दा स्थानीय डराइरहेका छन् । त्रासका कारण घरबाट बाहिर निस्कन छाडेका छन । तीनवटा वडाका स्थानीयले घर बाहिर गएर गर्नुपर्ने अत्यावश्यक काम प्रभावित भएको दुखेसो गरेका छन् । सेनाको टोलीले नियन्त्रणमा लिन नसकेको र राज्यले ज्यान भन्दा बाघ संरक्षणलाई महत्व दिएको भन्दैं स्थानीयले प्रदर्शन समेत गरेका छन् ।

बाघ आतंकले घरभित्रै लुकेर बस्नुपर्ने र बाहिर निस्कनु पर्दा समूह बनाउने गरेको कालिमाटी–७ घुईयाबारीका हिमाल पुनले बताउनुभयो । बाघले तीन जना मारेको र दैनिक बस्तुभाउ मारेर खाइरहेको उहाँले बताउनुभयो ।

निकुन्जले सीमा क्षेत्रमा तारबारको व्यवस्था नगर्दा बाघ बस्ती छिरेर स्थानीयको ज्यान जोखिममा पारेको कालिमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालले बताउनुभयो । उहाँका अनुसार नेपाली सेनाको टोलीले बाघको खोजी गरे पनि अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

बाघ आतंकले कालिमाटी–५, ६ र ७ वडाका साथै सम्पूर्ण पालिकाका बासिन्दा असुरक्षित भएको गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीकेसीले बताउनुभयो । सर्वसाधारणको ज्यानभन्दा जंगली जनावर प्यारो हुन नसक्ने भन्दै डिभिजन वन कार्यालय सल्यानलाई बाघ मार्न सिफारिसका लागि पत्राचार गरिएको उहाँले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस