२०८२ माघ २५ गते आइतवार

कपुरकोटमा असिना पानीले तरकारी बालीमा ठूलो क्षति

सल्यान । आज बिहान परेको असिना पानीका कारण सल्यानको कपुरकोट गाउँपालिकाका विभिन्न वडामा लगाइएका तरकारी बालीहरूमा ठूलो क्षति पुगेको छ ।

गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीका अनुसार वडा नम्बर ५ को सल्लाम, सिंदुरी, वडा नम्बर १ को सारपानी लगायतका क्षेत्रमा असिना पानीले तरकारी बालीमा क्षति पुर्‍याएको हो ।

असिना पानीले विषेशगरी फुल्न लागेका टमाटर, बन्दा, फूलगोपी, खुर्सानी, काँक्रोलगायतका बाली नष्ट गरेको छ ।

झण्डै आधा घण्टासम्म लगातार असिना पानी परेपछि तरकारीमा अत्यधिक क्षति पुगेको प्रदिप बस्नेतले बताउनुभयो । असिनाले टमाटरको पात, डाँठ सबै च्यातिएको छ ।

कृषकहरूले तत्काल क्षतिको मूल्यांकन गरी राहत उपलब्ध गराउन गाउँपालिकासँग आग्रह गरेको उपाध्यक्ष भण्डारीले बताउनुभयो । क्षतिको विवरण पूर्णरुपमा आइनसकेको गाउँपालिकाले जनाएको छ । साना किसानहरूको मुख्य आयस्रोत नै तरकारी खेती भएकाले यो क्षतिले उनीहरूको दैनिक जीवनमा प्रत्यक्ष असर परेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस