दाङ–पछिल्ला महिनाहरुमा घरजग्गाको कारोबारमा सुधार आएको छ । कारोबारमा सुधार भएसँगै राजस्व सङ्कलन पनि बढेको छ ।
चालु आर्थिक वर्षको नौ महिनामा घरजग्गा कारोबारबाट ३३ अर्ब २२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनदेखि चैतसम्म ३३ अर्ब २२ करोड ४८ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

गएको वर्ष यही अवधिमा घरजग्गाको करोबारबाट ३० अर्ब ३४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । गएको वर्षको तुुलनामा तीन अर्ब १२ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको विभागको तथ्याङ्कले देखाएको छ ।
घरजग्गाको कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुुँजीगत दस्तुुर, अतिरिक्त शुल्क, डोर सुविधा, पुँजीगत लाभकर, विलम्ब शुल्क, नगर पूर्वाधार विकास शुल्क लगायत शीर्षकमा राजस्व सङ्कलन हुने गरेको छ ।















