२०८३ बैशाख ४ गते शुक्रवार

बबईको मठेउरिमा राप्ती लाइफ केयर अस्पतालको स्वास्थ्य शिविर

दाङ । तुलसीपुरस्थित राप्ती लाइफ केयर अस्पतालले ग्रामीण भेगका नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य जाँच अभियानलाई तीव्रता दिएको छ । अस्पतालले शनिबार दाङको बबई गाउँपालिका वडा नं. ७ मठेउरिमा एकदिवसीय निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

अस्पतालसम्म पहुँच नभएका र आर्थिक रूपमा विपन्न नागरिकहरूलाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त शिविर आयोजना गरिएको हो ।

शिविरमा स्थानीय बासिन्दाहरूको स्वास्थ्य जाँच नि : शुल्करुपमा गरिएको हो । अस्पतालका अध्यक्ष हरिप्रसाद रिजालका अनुसार ग्रामीण क्षेत्रका नागरिकहरू सामान्य बिरामी हुँदा पनि अस्पतालसम्म आउन झन्झट मान्ने वा खर्चको अभावले रोग पालेर बस्ने गरेकाले अस्पताल आफैँ गाउँ–गाउँमा पुग्ने नीति लिएको हो ।

बिजनेस डेभलपमेन्ट म्यानेजर पंकज चौधरीले नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिँदै गाउँ–केन्द्रित अभियान सुरु गरेको बताउनुभयो । ‘अस्पतालको पहुँचभन्दा टाढा रहेका बबईका स्थानीयहरू यस शिविरबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।’ उहाँले भन्नुभयो–‘आगामी दिनमा पनि यस्ता अभियानहरूलाई अन्य दुर्गम क्षेत्रहरूमा विस्तार गर्दै लैजाने हाम्रो लक्ष्य छ ।’

शिविरमा आएका स्थानीयहरूले आफ्नै गाउँमा विशेषज्ञ परामर्श र जाँच सेवा पाउँदा खुसी व्यक्त गरेका छन् । राप्ती लाइफ केयर अस्पतालले विगत लामो समयदेखि यस क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस