दाङ । सरकारले नवयुवा आन्दोलनबाट क्षतिग्रस्त संरचना पुनर्निमाण गर्न दातृ निकायसँग छलफल अघि बढाएको छ । राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गठित समितिको प्रतिवेदनअनुसार नवयुवा आन्दोलनबाट ८४ अर्ब ४५ करोड ७७ लाख बराबरको भौतिक क्षति भएको छ, जसमध्ये सरकारी क्षेत्रको पुनर्निर्माणका लागि मात्रै ३६ अर्ब ३० करोड २१ लाख लाग्ने अनुमान छ ।
पुननिर्माणका लागि स्रोतको चाप परेका कारण विकास साझेदार तथा गैर–आवासीय नेपाली समुदायबाट पुनर्निमाणमा योगदान जुटाउन कुटनीतिक पहल गर्ने योजना अघि बढाएको अर्थ मन्त्रालयले जनाएको छ । सङ्घीय सरकारले चालू आर्थिक वर्षमा ४ अर्ब ३४ करोड र आउँदो दुई वर्षमा वार्षिक १० अर्ब १८ करोड खर्च गर्नुपर्ने देखिएको छ ।
प्रदेश र पालिका तहबाट पनि अर्बौं खर्च हुने योजना छ । स्रोत जुटाउन सरकारले साना तथा टुक्रे आयोजना कटौती गर्ने, ३ करोडभन्दा साना आयोजना नगर्ने र गाडी खरीदमा कडाइ गर्ने मितव्ययी नीति अपनाएको छ । पुनर्निर्माण कार्ययोजनाअनुसार सामान्य क्षतिका संरचनाको मर्मत चालू वर्षकै बजेटबाट गर्ने र आंशिक वा पूर्ण क्षतिका संरचना तीन वर्षभित्र पुनर्निमाण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।


















