२०८२ फाल्गुन २९ गते शुक्रवार

राप्ती लाइफ केयरद्वारा तुलसीपुरको कोठरीमा निःशुल्क शिविर

दाङ । दाङको तुलसीपुरस्थित राप्ती लाइफ केयर अस्पतालले नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले गाउँगाउँमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

अस्पतालले मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ को कोठरीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

अस्पतालका अध्यक्ष हरि रिजालले ग्रामीण भेगका नागरिकलाई स्वास्थ्य सेवा लिन बजारसम्म धाउनु पर्ने बाध्यता अन्त्य गर्न र घरदैलोमै विशेषज्ञ सेवा प्रदान गर्न अस्पतालले यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो ।

शिविरका विषेशगरी उच्च रक्तचाप (प्रेसर) को निःशुल्क परीक्षण, मधुमेह (सुगर) को जाँच तथा परामर्श, विभिन्न रोगका लक्षणहरूको पहिचान र प्राथमिक उपचार गरिएको छ ।

कोठरीमा सञ्चालित शिविरमा तुलसीपुर–१५ का अध्यक्ष लक्ष्मण चौधरीले सुगर, प्रेसर सामान्यजस्तो समस्या देखिएपनि यिनै समस्याले गम्भिर समस्या ल्याउने बताउनुभयो ।

उहाँले सम्पतिभन्दा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य राम्रो भएमा सम्पति कमाउन सकिने तर सम्पति भएर सबै उपचार संभव नहुने उहाँको भनाई छ । उहाँले राप्ती लाइफ केयर अस्पतालले प्रदान गरेको स्वास्थ्य सेवाप्रति धन्यवाद समेत ज्ञापन गर्नुभएको छ ।

वडा सचिव नर्मदा पोखरेल अस्पतालले गाउँमा आएर स्वास्थ्य सेवा दिएको भन्दै अस्पताल प्रशासनको प्रशंसा गर्नुभयो । अस्पतालका इमरजेन्सी इन्चार्ज तुलराज बरालले अस्पतालले दुर्गम तथा ग्रामीण क्षेत्रमा निःशुल्क शिविरहरू निरन्तर सञ्चालन गरिरहेको बताउनुभयो ।

अस्पतालका बिजनेश डेभ्‌लभमेन्ट म्यानेजर पंकज चौधरीले स्वास्थ्य सेवालाई सहज बनाउन अस्पतालले ग्रामिण क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने गरेको बताउनुभयो । शिविरमा अस्पतालका नर्स निर्मला पुन मगर, पविता केसी पनि सहभागी रहनुभएको थियो । शिविरमा १५० बढीले स्वास्थ्य जाँच गराएको अस्पताल प्रशासनले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस