सल्यान । सल्यानको लेखपोखरास्थित लेखपोखरा साना किसान कृषि सहकारी संस्था लिमिटेडको दशौँ साधारणसभा तथा तेस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ ।
संस्थाकी सञ्चालक समिति उपाध्यक्ष लिला वलीको अध्यक्षता तथा कपुरकोट साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक जित प्रसाद आचार्य प्रमुख आतिथ्यता एवं छत्रेश्वरी गाउँपालिका वडा नं. ५ की वडा सदस्य तुलसा नेपाली विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
संस्थाकी सहायक प्रबन्धक पार्वती केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक धन बहादुर परियारले गर्नुभएको हो ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन र भावी योजनाहरूमाथि छलफल गरिएको थियो ।
अधिवेशनले आगामी कार्यकालका लागि निर्मला कुमारी खत्रीको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा मान बहादुर वली, सदस्यमा जानकी केसी, मिरा रावत, बिमला भण्डारी, रेशमी नेपाली, र गोमा शर्मा भण्डारी चयन हुनुभएको छ ।
नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरिएको हो । कार्यक्रममा संस्थाका सल्लाहकार समिति संयोजक गोविन्द केसी, मान बहादुर वली, पूर्ण बहादुर भण्डारी, तोमानन्द केसी, ओखरवीर वली र हरिकला केसी लगायतको उपस्थिति रहेको थियो ।















