दाङ । श्रम संस्कृति पार्टीले दाङको तुलसीपुरमा आफ्नो श्रम अभियानलाई तीव्रता दिएको छ । पार्टीको प्रदेश, जिल्ला तथा नगर समितिको संयुक्त आयोजनामा आज शनिबार तुलसीपुर उपमहानगरपालिका–१० स्थित राइखलियान क्षेत्रका खेतबारीमा थुप्रिएको फोहोर व्यवस्थापन गरिएको हो ।
गत चैत ६ गते परेको वर्षाका कारण तुलसीपुर बजारको फोहोर कुलोले बगाएर तल्लो क्षेत्रका खेतहरूमा पुर्याएको थियो । खेतबारीमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिनुका साथै किसानहरूलाई खेतीपाती गर्न समेत समस्या भएपछि पार्टीले विशेष सक्रियता देखाएको हो ।
सरसफाइ अभियानका क्रममा बोल्दै पार्टीका प्रदेश सह–सचिव टोपबहादुर महताराले बजार क्षेत्रबाट कुलोमा फालिने फोहोर गाउँका खेतबारीसम्म पुग्दा वातावरणीय र स्वास्थ्य समस्या बढेको बताउनुभयो ।
उहाँले श्रम संस्कृतिलाई प्राथमिकता दिँदै पार्टीले यो अभियान सञ्चालन गरेको र संकलित फोहोर व्यवस्थापनमा सहयोग पुर्याएकोमा तुलसीपुर उपमहानगरपालिकालाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
अभियानमा पार्टीका जिल्ला अध्यक्ष राजन विश्वकर्मा, उपाध्यक्ष गीता बिष्ट, रोल्पा संयोजक तिलक बुढा मगर, नगर सदस्य भीम बहादुर बिक लगायत स्थानीयहरूको उत्साहजनक सहभागिता रहेको थियो । श्रम संस्कृति पार्टीले यसअघि चैत ७ गते पनि सडक क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको थियो ।














