
दाङ, ३ चैत । सर्वोच्च अदालतले सबैभन्दा धेरै मुद्दा सम्बन्धविच्छेद रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै देशभरबाट ४० हजार २ सय ३० मुद्दा दर्ता भएको जनाएको छ ।
जसमा ३१ हजारभन्दा धेरै मुद्दा फर्स्योट भएका छन् । ८ हजार अझै फर्स्योट गर्ने क्रममा रहेको उल्लेख छ । वैदेशिक रोजगार, पारिवारिक किचलो, बानी व्यवहार जस्ता असमझदारीले सम्बन्धविच्छेद हुने गरेको छ । सम्बन्धविच्छेदका सबैभन्दा धेरै मुद्दा जिल्ला अदालतमा परेका छन् ।
सम्बन्धविच्छेदको मूख्य कारण आत्म स्वाभिमानको रक्षा रहेको समाजशास्त्री डा. दिनेश प्रसाईंले बताउनुभयो ॥ कतिपय सम्बन्धविच्छेद हुनुमा चेतनावृद्धि, वैदेशिक रोजगार, आत्मनिर्भरता, कानुनको स्पष्ट व्याख्या रहेको उहाँको भनाइ छ ।
जिल्लामा ३९ हजार ५४ मुद्दा दर्ता भएका छन् भने ३० हजार ९ सय ४ वटा मुद्दा फर्स्योट भएका छन् । त्यस्तै उच्चमा १ हजार २ सय ६ मुद्दा दर्ता हुँदा ८ सय ४० मुद्दा फर्स्योट भएका छन्। त्यसैगरी सर्वोच्चमा ६० मुद्दा दर्ता हुँदा ८ मुद्दा फर्स्योट भएका छन् ।
सर्वोच्चको तथ्यांक अनुसार पछिल्लो छ वर्षमा देशभरका अदालतहरूमा एक लाख ९४ हजार ६५ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । जसमध्ये २०७५/७६ मा कुल २३ हजार ३११ मुद्दा सम्बन्धविच्छेदका थिए भने वर्ष २०७९/०८० मा ४० हजार १८३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको थियो ।
२०७६/७७ मा देशभरका अदालतमा २५ हजार ४३२, २०७७/०७८ मा २७ हजार ४२५, वर्ष २०७८/०७९ मा ३७ हजार ४ सय ३४ र २०८०/८१ मा ४० हजार ३ सय २० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् ।