
दाङ । काठमाडौँमा आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउन र विद्यालय सञ्चालन गर्न सर्वोच्च अदालतले दिएको तीन दिनको समयसीमा आज सकिँदैछ ।
अदालतको आदेशसँगै सरकारलाई दबाब बढेको भए पनि अहिलेसम्म सरकार र शिक्षकहरुबीच सहमति जुट्न सकेको छैन । सर्वोच्चले गएको बिहीवार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले शिक्षक प्रतिनिधिसँग छलफल र वार्ताको पहल गरे पनि ठोस निचोड निस्कन नसक्दा आन्दोलन कायमै छ । शिक्षक आन्दोलनको आज २६ औं दिन पुगेको छ ।
नेपाल शिक्षक महासङ्घकी सह–अध्यक्ष नानुमाया पराजुलीले आफूहरुले शिक्षा मन्त्रीसँग आन्दोलनको औचित्यबारे जानकारी गराएको र विगतमा भएको सहमतिअनुसार, शिक्षा ऐन जारी हुनुपर्ने आफूहरुको अडान यथावत् रहेको बताउनुभयो ।
शिक्षा मन्त्रायका प्रवक्ता शिवकुमार सापकोटाले शिक्षकका माग पूरा गर्नकै लागि सरकार निरन्तर छलफलमा रहेको बताउनुभएको छ । शिक्षकहरुले गएको चैत २० गतेदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका छन् ।
विभिन्न पालिकाले शिक्षकहरुलाई तत्काल विद्यालय खोल्न निर्देशन समेत दिन थालेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, बबई गाउँपालिका लगायतका पालिकाले विद्यालय सञ्चालन गर्न निर्देशन दिएका छन् ।
शिक्षक आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका जाँच, कक्षा १२ को परीक्षा, भर्ना अभियानलगायतका शैक्षिक गतिविधि प्रभावित भएका छन् ।