तुलसीपुर । मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा ओली दम्पतीले तुलसीपुर–६ गाईडहरमा रहेको मानव सेवा आश्रम दाङमा रहेका आमा–बुवालाई फलफुल वितरण गरेका छन् ।
स्वर्गीय प्रेमा ओली र स्वर्गीय निमा खत्रीको सम्झनामा तुलसीपुर उपमहानगरपालिका–७ बसन्तपुरमा तिलक ओली र चित्रा ओलीले संयुक्त रूपमा आश्रममा रहेका आमा–बुवाहरूलाई फलफुल वितरण गर्नुभएको हो ।
आफ्ना आमाहरूको सम्झनामा आश्रममा रहेका आमाबुवाहरूसँग खुसी साट्न पाउँदा खुशी लागेको तिलक ओलीले बताउनुभयो । आउँदा दिनहरुमा पनि यस्तो सामाजिक कार्यलाई निरन्तरता दिने उहाँको भनाई छ । त्यस्तै चित्रा ओलीले आमाको मुख हेर्ने दिनमा आश्रममा रहेका आमाबुवाहरूसँग समय बिताउन पाउदा खुशी लागेको बताउनुभयो ।
मानव सेवा आश्रम दाङका संयोजक हिरु जोशीले ओली दम्पतीप्रति आभार व्यक्त गर्नुभयो । सेवा नै ठूलो धर्म भएकाले यस्ता कार्यहरूले समाजमा सकारात्मक सन्देश प्रवाह हुने उहाँले बताउनुभयो ।
आश्रमका आमा–बुवाहरूले आज धेरै छोराछोरीहरु संग भेट्न पाउँदा खुशी भएको संयोजक हिरु जोशीले बताउनु भएको छ । आश्रममा अहिले दाङको विभिन्न ठाँउबाट विभिन्न समयमा उद्धार गरीएका ६० जना आमा–बुवाहरु आश्रय लिएर बसी रहेका छन् ।
आज आमाको मुख हेर्ने दिनको अवसरमा विभिन्न व्यक्तिहरु विहानै देअि आश्रममा आएर आमा–बुवाहरुसंग भेटघाट गरीरहेको संयोजक जोशीले बताउनुभयो ।















