२०८२ जेष्ठ ८ गते बिहिवार

अन्तरजातीय विवाह गर्ने ४० जोडी सम्मानित

खोटाङ । खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ । फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरेको हो ।

दलित लक्षित कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले जानकारी दिनुभयो । अन्तरजातीय विवाह गरेपछि अदृष्य रूपमा सामाजिक हिंसामा रहेका जोडीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेपछि उनीहरू हर्षित भएका गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो । उहाँका अनुसार अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले सचेतनामूलक अभियानसँगै वडावडामा विविध कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो ।

गाउँपालिकाले गरेको सम्मानले सभ्य समाज निर्माणमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटेहाङ गाउँपालिका कार्यसमितिका सचिव युवराज विश्वकर्माले बताउनुभयो । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, खोटेहाङ गाउँपालिका कार्यसमितिको अगुवाइमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस