२०८२ फाल्गुन २६ गते मङ्गलवार

भारत र पाकिस्तानबीच द्वन्द्व बढेपछि सीमामा उच्च सुरक्षा सतर्कता

दाङ। भारत र पाकिस्तानबीच द्वन्द्व बढ्दै जान थालेपछि भारतसँग जोडिएका दाङको मुख्य नाका कोइलाबास र सहायक नाकाहरुमा सुरक्षा निगरानी बढाइएको छ ।

भारत नियन्त्रित कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको विषयलाई लिएर छिमेकी देशहरु भारत र पाकिस्तानबीच द्वन्द्व चर्किएपछि नेपालका सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो ।

छिमेकी देशविरुद्ध भूमि प्रयोग हुन नदिन र घुसपैठ हुने जोखिमलाई मध्यनजर गर्दै सरकारले देशका सबै सीमा नाकामा उच्च सुरक्षा सतर्कता अपनाएको जनाएको छ । भारतको बलरामपुर जिल्लासँग जोडिएका दाङका कोइलावासलगायत दुई दर्जनबढी खुला सीमामा पनि सुरक्षा सतर्कता अपनाइएको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिले सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानजस्ता सुरक्षा निकायलाई सतर्कता र जाँचमा कडाइ गर्न पत्राचार गरिसकेको छ । जिल्ला सुरक्षा समितिका सदस्य सचिव एवं सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जिल्ला सुरक्षा समितिको बैठक बसेर छिमेकी मुलुकमा भइरहेको तनावलाई मध्यनजर गर्दै दाङको भारतसँग जोडिएका सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाउने निर्णय भएको जानकारी दिनुभयो ।

सुरक्षा समितिले सीमा क्षेत्रमा सुरक्षा जाँच निगरानी बढाउने, शंकास्पद ब्यक्तिको आवागमन निरुत्साहित गर्न सादा पोशाकमा प्रहरी परिचालन गर्ने, सीमा वारपार गर्दा अनिवार्य रुपमा ब्यक्तिको पहिचान खुल्ने फोटोसहितको नेपाल सरकारले जारी गरेको नागरिकता, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र जस्ता परिचयपत्र देखाउनुपर्ने जस्ता निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिनुभयो ।

नेपाल भारत सीमा क्षेत्र रहेको दाङको ८३ किलोमिटर क्षेत्रमा सीमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरीका १४ कार्यालय छन् ।

यस्तै भारतसँग जोडिएका बाँकेको मुख्य नाका जमुनाहा नाका र सहायक नाकाहरुमा सुरक्षा निगरानी बढाइएको छ । नियमित हुने जाँचलाई बढावा दिदै आधिकारिक परिचयपत्र हेरेर मात्रै आवतजावत गर्न दिइएको छ । त्यस्तै बर्दियामा पनि खुला नाकामा सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ भने रुपन्देही, कपिलवस्तुलगायतका सीमावर्ती नाकामा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । मुख्य नाका बेलहियासहित अन्य रुपन्देहीको लुम्बिनी, भगवानपुर, मर्चवार, दुर्गौलियालगायत नाकाबाट आवतजावत गर्ने यात्रुलाई नेपाल–भारत दुबै देशका नागरिकप्रति विशेष निगरानी, सोधखोज, आवश्यकताका आधारमा खानतलासी थालिएको प्रहरीले जनाएको छ ।-नयाँ युगबोध राष्ट्रिय दैनिक सन्तोष खनालले खबर लेख्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस