दाङ । तुलसीपुर–६, गोलौरा निवासी सागर महतारा र अनिता आचार्य महताराले जीवनको नयाँ यात्रा सुरु गर्दै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्नुभएको छ। वैवाहिक जीवनको पहिलो दिनमै उहाँहरूले मानव सेवा आश्रम, तुलसीपुरमा रहेका आश्रितहरूलाई विशेष भोजन कार्यक्रम आयोजना गरेर खुशी बाँड्नुभएको हो।
विवाहलाई केवल व्यक्तिगत खुसीमा सीमित नराखी, समाजप्रति योगदान दिने उद्देश्यले विवाह भोज आश्रममै गरिएको हो। नवविवाहित जोडीले आफ्ना शुभचिन्तकहरू सँगै आश्रममा गएर सेवामा सहभागी भई वृद्धवृद्धा तथा असहायहरूलाई भोजन खुवाएका थिए।
वैवाहिक सम्बन्धमा जोडिएका अधिवक्ता समेत रहनुभएका सागर महताराले आफ्नो जीवनको यो विशेष दिनमा जस्तै सबै मानवको जीवनमा पनि मुस्कान ल्याओस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो। सामाजिक सेवा दुवैजनाको रुचिको क्षेत्र भएको भन्दै वैवाहिक यात्राको सुरुवात मानव सेवा आश्रममा रहेका ‘जिउँदा भगवान’लाई खाना खुवाएर गर्न पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो।
नवविवाहित सागर महताराका बुवा टोप बहादुर महताराका अनुसार, विवाहको निम्तो आश्रममा रहेका आश्रितहरूलाई पनि दिइएको थियो। तर, उनीहरूलाई भोजस्थलसम्म ल्याउन सम्भव नदेखिएपछि मंगलबार साँझ स्वयं आश्रममै पुगेर भोजन कार्यक्रमको आयोजना गरिएको हो।
हाल आश्रममा विभिन्न क्षेत्रका ६५ जना आश्रितहरू रहेका छन्। उनीहरूलाई आत्मीय वातावरणमा खाना खुवाएर वैवाहिक खुशीयाली सँगै बाँडिएको हो।
कार्यक्रमको सहजिकरण मानव सेवा आश्रम, दाङका संयोजक हिरू जोशीले गर्नुभएको थियो। संयोजक जोशीले विवाह उत्सवको अवसरमा भोजन सेवा उपलब्ध गराएकोमा महतारा परिवारलाई धन्यवाद ज्ञापन गर्दै, यस्तो सामाजिक कार्यले समाजमा सकारात्मक प्रेरणा फैलाउने विश्वास व्यक्त गर्नुभयो।














