
दाङ । थर्ड आई नेपाल दाङले तुलसीपुरमा शनिबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल सोसाइटी तुलसीपुर शाखाको प्राविधिक सहयोग र फ्रेन्ड फिटनेस एन्ड सप्लायर्सको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा २३ जनाले रगतदान गरेका छन् । थर्ड आई नेपाल दाङका अध्यक्ष बसन्त गिरीका अनुसार संस्थाले नियमित रूपमा रक्तदान जस्ता सामाजिक आर्थिक कार्यक्रम गर्दै आएको छ ।
यसअघि पनि थर्ड आई नेपालले विभिन्न विद्यालय र क्याम्पसहरूमा पुगेर रक्त समूह परीक्षण तथा रक्तदान कार्यक्रम सञ्चालन गरिसकेको उहाँले बताउनुभयो ।
कार्यक्रमको अवसरमा संस्थाका प्रतिनिधिहरूले रक्तदानको आवश्यकता र महत्वका बारेमा जानकारी गराउँदै स्वेच्छिक रक्तदान गर्न सबैमा अपिल गरेका थिए । रक्तदान मानव जीवन रक्षाको लागि अति आवश्यक कार्य भएको र समयमै रगत नपाएर धेरै बिरामीले ज्यान गुमाउनु परिरहेको अवस्थामा यस्तो कार्यक्रमले अमूल्य जीवन जोगाउन योगदान पुग्ने आयोजकले जनाएको छ ।
थर्ड आई नेपालले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।