
दाङ। तराईका जिल्लामा पाइने विषालु सर्प पछिल्लो समय पहाड उक्लिन थालेका छन् । तातो हावा बढेसँगै तराईमा पाइने विभिन्न प्रजातिका विषालु सर्प पहाडी जिल्लामा देखिन थालेका हुन् ।
तराईमा पाइने करेत, गोमन, बाघे र रसेल भाइपर प्रजातिका सर्प निकै खतरनाक मानिन्छन् । यी सर्पहरूको टोकाइपछि तत्काल उपचार हुन नसके पक्षघात तथा मृत्यु नै हुने चिकित्सकहरू बताउँछन् ।
पछिल्लो समय यस्ता विषालु सर्प पहाडतिरसमेत उक्लिन थालेकाले सचेत हुनुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार पहाडी क्षेत्रमा समेत गर्मी बढ्न थालेपछि तराईका सर्प पहाड उक्लिन थालेका हुन् ।
उपचार गराउन आएका बिरामीको टोकाइका आधारमा पहाडी जिल्लामा तराईका सर्प उक्लिएको पत्ता लागेको हो । बुढाथोकीका अनुसार सर्पको टोकाइ सबैभन्दा बढी तराईका जिल्लामा छ ।
तराईमा पहाडको तुलनामा बढी विषालु सर्प पाइने भएकाले टोकाइ दर पनि बढी भएको हो । तर, सर्पको टोकाइ र यसको संख्या र प्रकारबारे स्वास्थ्य मन्त्रालयमै यथेस्ट विवरण छैन ।
डब्लुएचओ तथ्यांक हेर्दा सर्पको टोकाइ डरलाग्दो छ । डब्लुएचओका अनुसार सर्पको टोकाइबाट नेपालमा वार्षिक तीन हजारको मृत्यु हुन्छ । नेपालमा १७ प्रकारका सर्प निकै घातक र टोकाइपछि विष लाग्ने र अंगभंग तथा मृत्यु नै गराउने प्रजातिका छन् ।