२०८२ मङ्सिर २७ गते शनिवार

मनसुनी प्रणाली सक्रिय बन्दै : पश्चिम नेपालका अधिकांश जिल्लामा वर्षा

दाङ। मनसुन सक्रिय हुँदै गएपछि पश्चिम नेपालका जिल्लाहरुमा वर्षा भइरहेको छ । अहिले दाङ उपत्यकासहित पश्चिमका जिल्लामा वर्षा भइरहेको हो । पानी प्रणाली उत्तरतर्फ सरिरहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

अहिले गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

पानी पार्ने प्रणाली उत्तरतर्फ सरिरहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

देशको पूर्वी भूभागमा आएर झन्डै दुई हप्ता रोकिएको मनसुन पश्चिमतर्फ अघि बढेको छ । जेठ १५ गते राति नै कोशी प्रदेशमा आइपुगेको मनसुन केही दिन वर्षा गराएपछि शिथिल बनेको थियो ।

एक हप्ताभन्दा लामो समय शिथिल बनेको र झन्डै दुई हप्ता रोकिएको मनसुन बुधबार बेलुकादेखि अघि बढेको हो । मनसुन सक्रिय भएर अघि बढिरहेकोले केही दिनमै देशभर फैलने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

देशका अधिकांश स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी हावा सक्रिय हुँदा यतिबेला देशका विभिन्न स्थानमा वर्षा सुरु भएको हो ।

देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । महाशाखाका मौसमविद् गोविन्द झाले मनसुनी हावा चलिरहेको, बङ्गालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल आएकाले वर्षा गराउने प्रणाली विकसित भई हाल मुलुकको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस