
दाङ । दाङको ग्वारखोलामा सडक भासियर टिप्पर पल्टिदा एकजना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१६ भिटोरियास्थित ग्वारखोलामा सडक भासियर इट्टा लोड गरिएको टिप्पर पल्टिएको प्रहरीले जनाएको छ ।
आज अपराह्न ३ बजेतिर इट्टा भट्टाबाट इट्टा लोड गरी रुकुमतर्फ जाँदै गरेको ना १ क ९३२० नम्बरको टिप्पर कच्ची भित्री सडक भासिँदा सडक छेउमा पल्टिएको हो ।
दुर्घटनामा टिप्पर चालक मकवानपुर मनहरी गाउँपालिका–६ का २५ वर्षीय सुदिप मोक्तानको दायाँ खुट्टामा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । सह–चालक सोही ठाँउको विशाल सुनार भने सकुशल रहेका रानाले जानकारी दिनुभयो ।
दुर्घटनास्थलमै टिप्पर उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।