२०८२ मङ्सिर २७ गते शनिवार

नागरिकका दुखमा उपेन्द्रको साथ : पिमा गन्धर्वको परिवारलाई खाद्य सामाग्री सहयोग


दाङ । तुलसीपुर उपमहानगरपालिका–७ जितपुर निवासी समाजसेवी उपेन्द्र पौडेल सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आउनुभएको छ । विभिन्न संकटका घडीमा जनताको दुःख–पिरमर्का बुझ्ने र सहयोगको हात अगाडि बढाउने व्यक्तिका रूपमा उहाँ चिनिनु भएको छ ।

समाजसेवा भनेको सरकार वा निकायबाट मात्र नभई नागरिक तहबाट पनि हुन सक्छ भन्ने उदाहरण उपेन्द्र पौडेल हुनुहुन्छ ।

कोरोना महामारीको बेला जब मुलुक लकडाउनमा थियो, जनसाधारण आआफ्नै घरभित्र थुनिन बाध्य थिए, त्यसबेला उपेन्द्रले विपन्न र दैनिक गुजारा चलाउन कठिन परिवारलाई लक्षित गरी ‘खाद्यान्न गोदाम अभियान’ नै सञ्चालन गर्नुभयो ।

उहाँले ’कोही पनि भोकै मर्नु नपरोस्‌’ भन्ने उद्देश्यसहित सयौं परिवारलाई राहत बाँड्नुभयो । निस्वार्थ सेवा भावले उहाँलाई धेरैको मनमा समाजसेवीको पर्याय बनाएको छ ।

यसैक्रममा बिहीबार उहाँले पुनः सामाजिक सेवामा सक्रियता देखाउँदै तुलसीपुर–४ गणेश टोलमा बसोबास गर्दै आएकी अति विपन्न पिमा गन्धर्वको परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

दैनिक मजदुरी गरेर गुजारा गर्दै आएको गन्धर्व परिवार पछिल्लो समय खाद्यान्न अभावमा परेको खबर पाएपछि समाजसेवी पौडेल आफैं घरमै पुगेर चामल, तेल लगायत आवश्यक खाद्य सामग्री सहयोग गर्नुभएको हो ।

‘समाजमा कोही पनि भोकै बस्न नपरोस् भन्ने मेरो प्रयास हो ।’ सहयोग हस्तान्तरण गर्दै पौडेलले भन्नुभयो–‘यो त सानो सहयोग हो, तर यही सहानुभूति र साथले संकटमा परेका परिवारलाई केही राहत मिल्छ भन्ने विश्वास गरेको छु ।’

पौडेलले विगतमा पनि चट्याङ पीडित, अपांगता भएका व्यक्तिहरू, बिरामीको उपचारका लागि सहयोगदेखि लिएर विपन्न पपरिवारसम्म निरन्तर राहत वितरण गर्दै आउनुभएको छ ।

समाजसेवी उपेन्द्र पौडेलले आफू कुनै प्रचारप्रसारको लागि होइन, मानवता र कर्तव्यको भावना लिएर सेवा गरिरहेको बताउनुहुन्छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस