तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हाम्रो पहुँच सेकेण्डरी स्कुलले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क लेखा (फ्री अकाउन्टिङ) तालिम प्रदान गदै आएको छ ।
विद्यालयले किताबी ज्ञानमात्रै नभएर विद्यार्थीलाई व्यावहारिक रूपमा दक्ष बनाउनका लागि विशेष कक्षा सञ्चालन गदै आएको छ । व्यवहारिक शिक्षामा जोड दिँदै विद्यालयले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी प्रत्येक वर्ष तीन महिनाको निःशुल्क लेखा (फ्री अकाउन्टिङ) तालिम सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले बताउनुभयो ।
विद्यालयले विद्यार्थीहरुलाई जिवन उपयोगी शिक्षा प्रदान गरेकोले विद्यार्थीहरूको आकर्षण पनि बढ्दो रहेको उहाँको भनाई छ । तालिममार्फत विद्यार्थीहरूले लेखासम्बन्धी आधारभूत ज्ञान हासिल गर्दै आइरहेका छन् ।
‘यसले उनीहरूलाई रोजगारी तथा व्यवसायिक क्षेत्रमा सहज बनाएकोे छ ।’ प्रधानाध्यापक भण्डारीले भन्नुभयो–‘विगत वर्षहरूमा तालिममा सहभागी विद्यार्थीहरू विभिन्न कार्यालय तथा व्यवसायिक क्षेत्रमा काम गदै रोजगारी प्राप्त गर्नुका साथै स्वरोजगार समेत बनेका छन् ।’
विद्यालयले गुणस्तरीय शिक्षासंगै विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा प्रदान गदै आएको छ । बिगत दुई वर्षदेखि प्लस टु (कक्षा ११ र १२) तहमा अध्ययन गराउँदै आएको प्रधानाध्यापक भण्डारीले बताउनुभयो ।
प्लस टु मा विद्यालयले होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स, गणित लगायतका विषयहरुमा पठनपाठन सञ्चालन गदै आएको छ । विद्यार्थीहरूको रुचिअनुसार अन्य संकाय थप गर्ने योजना पनि विद्यालयले बनाएको छ ।
यसैबीच विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा पनि उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयबाट परीक्षा दिएका विद्यार्थीमध्ये १० जनाले ३.६५ देखि ४.० जीपीए, १५ जनाले ३.२ देखि ३.६ जीपीए, र १० जनाले २.९ देखि ३.२ जीपीए ल्याएका छन् ।
स्थापनाकालदेखि नै विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । प्रधानाध्यापक भण्डारीले यो नतिजा प्राप्त गर्न सहयोग गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समिति, उपसमिति तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभएको छ ।














