सल्यान, १७ असार । पहिरोले अवरुद्ध बनेको दाङ–सल्यान सडक संचालनमा आएको छ । सोमबार हिजो साँझदेखि अबरुद्ध बनेको दाङ–सल्यान सडक आज बिहानदेखि संचालनमा आएको हो ।
आज बिहान जेसिबीले पहिरो हटाएपछि सडकमा सवारी आवागमन सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बावुराम बस्नेतले जानकारी दिनुभयो । पहिरो हटाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
राप्ती राजमार्ग अन्तर्गत सल्यान र दाङको सिमाना नजिकै सल्यानको कपुरकोट गाउँपालिका–३ मा ठूलो पहिरो खसेपछि हिजो साँझ ६ बजेदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।
पहिरो निरन्तर खसेका कारण गएराती खुलाउन समस्या भएपछि बिहानमात्रै पहिरो हटाएको प्रहरीले जनाएको छ । उक्त ठाउँमा यसअघि पनि पहिरो झरेको थियो । पानी परेपछि पहिरो खस्दा दाङ सल्यान सडकको यात्रा निकै कष्टकर हुने गरेको छ ।
यसैबिच प्रहरीले वर्षातको समयमा यात्रा गर्दा बुझेरमात्र यात्रा गर्न सबैलाई आग्रह गरेको छ ।














