२०८२ मङ्सिर २७ गते शनिवार

बालिकालाई भारत लैजान खोजेको आरोपमा चार जना पक्राउ

दाङ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । भारतसँग सीमा जोडिएको रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालीदह नाकाबाट तीन जना बालिकालाई भारततर्फ लैजाँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको रूपन्देही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले गत असार १५ गते दिउँसो साढे ३ बजेतिर कालिदह नाकाबाट तीन जना बालिकालाई भारततर्फ लैजाँदै गर्दा एक जना नेपाली महिला र तीन जना भारतीय गरी चार जनालाई पक्राउ गरिएको बताउनुभयो ।

पक्राउ पर्नेहरूमा रूपन्देहीको गैंडहवा गाउँपालिका–६ का १९ वर्षीय निर्मला लोधसहित भारत उत्तर प्रदेश गोरखपुर कैम्पियरगंज कुवर बलुवाका ३८ वर्षीय गीता गौड, १९ वर्षीय नेहा पाण्डे र २६ वर्षीय प्रमोदकुमार धोबी रहेका छन् ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रूपन्देहीबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू गरिएको कार्कीले जानकारी दिनुभयो ।

भारत लैजाँदै गरेका तीन जना बालिकाको उद्धार गरी प्रहरीले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा काम गर्दै आएको शुभ अवसर ग्राम नेपालको जिम्मा लगाएको र मंगलबार परिवारको खोजी गरी जिम्मा लगाउने तयारी गरेको जनाएको छ ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार उद्धार गरिएका बालिकाहरू १५/१६ वर्ष उमेरका रहेका छन् । बालिकाहरूले आफूहरू पहिलेदेखि नै गैंडहवाका निर्मला लोध र गोरखपुरका गीता गौडसँग सम्पर्कमा रहेको र उनीहरूले विभिन्न प्रलोभन देखाएर भारत लैजान लागेको प्रहरी सामु बयान दिएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस