
दाङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड मूख्य शाखा कार्यालय तुलसीपुरले चामलको मूल्य घटाएको छ । कार्यालयबाट विक्रि हुँदै आएको चामलको मूल्य पहिलेको भन्दा अहिले केही घटेको कार्यालयका प्रमुख तुलमाया लोवाले जानकारी दिनुभयो ।
अरुवा मोटा चामल र अरुवा सोना मन्सुली चामलको मूल्य प्रति बोरा २५ रुपैंयाले घटेको छ । अरुवा मोटा चामल पहिले १ हजार ५७५ रुपैंयामा बिक्रि हुँदै आएकोमा अहिले २५ रुपैंयाले घटेर १ हजार ५५० रुपैंया निर्धारण गरिएको छ ।
कार्यालय प्रमुख लोवाका अनुसार अरुवा सोना मन्सुली चामल पहिले १ हजार ६२५ रुपैंयामा बिक्रि हुँदै आएकोमा अहिले २५ रुपैंयाले घटेर १ हजार ६ सय रुपैंया निर्धारण गरिएको हो ।
उहाँका अनुसार चिनिको मूल्य पनि पहिलेको भन्दा घटेको छ । चिनिको मूल्य पहिलेको भन्दा प्रति किलो १० रुपैंयाले घटेको उहाँले बताउनुभयो । यो भन्दा अगाडी चिनि प्रति किलो ११० रुपैंयामा बिक्रि हुँदै आएको थियो भने अहिले प्रति किलोको एक सय रुपैंया निर्धारण गरिएकोे कार्यालय प्रमुख लोवाको भनाई छ ।

कार्यालयका अनुसार स्टिम जिरा मसिनो चामलको मूल्य पहिलेको भन्दा बढेको छ । पहिले प्रति बोरा २ हजार १७५ रुपैंयामा बिक्रि हुने चामल २५ रुपैंयाले बढेको छ । अहिले २५ रुपैंयाले बढेर स्टिम जिरा मसिनो चामलको मूल्य २ हजार २ सय रुपैंया निर्धारण गरिएको कार्यालयले जनाएको छ ।

बजार मूल्य स्थिर राख्न र उपभोक्तालाई राहत दिनका लागि मूल्य समायोजन गरिएको कार्यालय प्रमुख लोवाले जानकारी दिनुभयो ।