दाङ। पौडेल वंश महासङ्घ नेपाल दाङको घुम्ती बैठक बबई गाउँपालिकामा सम्पन्न भएको छ।
महासंघकाे शनिबार सम्पन्न बैठकले गत असार एक गते दाङमा चट्याङ लाग्दा गोठमा बाँधिएका सबै पशुचौपाया मरेपछि पीडामा रहेको एक परिवारलाई सहयोग गर्ने निर्णय गरेकाे छ ।
तुलसीपुर उपमहानगरपालिका–७ घुसेरी निवासी सागर पौडेलको गोठमा चट्याङ लागेर आगलागी हुँदा गोठमा बाँधिएका ३ वटा भैंसी, ३ वटा खसी, १ वटा बाख्रा र १० वटा कुखुरा जलेर मरेका थिए । दैविक प्रकोपबाट पिडित पाैडेल परिवारलाई सहयाेग गर्ने निर्णय भएकाे महासंघ दाङका अध्यक्ष कालीकाप्रसाद पाैडेलले जानकारी दिनुभयाे।
यस्तै वैठकले वंशावली संकलनका लागि पालिका स्तरीय समिति गठनको प्रक्रिया अन्तिम चरणमा पुगेकाले वंशावली प्रकाशनका लागि पालिका स्तरीय र पूजा समितिलाई पत्राचार गर्ने निर्णय गरेकाे छ।
बबई गाउँपालिकाको पदमपुर सामुदायिक वनको सभा हलमा बसेको बैठकले बबई गाउँपालिका,४ हस्तनापुर निवासी पाैडेल बन्धु बिजुली प्रसाद पौडेलको धर्मपत्नी प्रेमाकुमारी पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव गरी उहाँकाे निवासमै पुगेर समवेदना प्रकट गरेकाे छ ।
संघका अध्यक्ष कालिकाप्रसाद पौडेलको अध्यक्षता तथा केन्द्रीय सदस्य हरिहर पाैडेलकाे प्रमुख अतिथिता तथा लुम्बिनी प्रदेश सचिव भरतमणि पौडेल एवम् शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष प्रेमा केसी पौडेलको विशिष्ट अतिथ्यतामा बसेको बैठकले सो निर्णय गरेको हो।
संघले पौडेल बन्धुहरू बीचको मित्रभाव तथा भेटघाट अभियान अन्तर्गत हापुरेमा रहनुभएका ६० बर्षिय मान्टा पाैडेलसंग भेटघाट गरेकाे छ । तीन बर्ष अघि रूखबाट लडेर मेरूदण्ड भाँचिएपछि पुर्णरूपमा अशक्त रहनुभएका उहाँलाई महासंघको टाेलीले घरमै पगेर शिघ्र स्वास्थ्य लाभकाे कामना गरेकाे हाे ।
दाङका १० वटै पालिकामा घुम्ती बैठक आयोजना गर्ने महासंघले जनाएको छ।बैठकमा जिल्ला पदाधिकारी सहित अन्य पालिकाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। आगामी घुम्ती बैठक असाेज २५ गते बङ्गलाचुली गाउँपालिकाको वडा नम्बर ४ कमिरेचौरमा सञ्चालन गरिने सचिव डिल्ली पौडेलले जानकारी दिनुभयो।














