दाङ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको थेरापी सेन्टरले आर्थिक अभाव झेल्नु परेको छ । अपाङ्ग समाज सुधारको सहकार्यमा सञ्चालित उक्त थेरापी सेन्टरले तीन जना कर्मचारीलाई ऋण खोजेर तलब खुवाउनु परेको बताइएको छ ।
उक्त थेरापी सेन्टरलाई उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा छुट्याएको तीन लाख ५० हजारले कर्मचारीको तलब नपुगेपछि थेरापी सेन्टर सञ्चालक समितिले ऋण खोजेर व्यवस्थापन गरेको अध्यक्ष ईश्वरीप्रसाद खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार हाल एक जना थेरापिस्ट, एक जना थेरापी सहयोगी र एक जना कार्यालय सहयोगी कार्यरत छन् ।
कर्मचारीको तलब मात्रै वार्षिक पाँच लाखभन्दा बढी हुने गरे पनि नगरपालिकाले पर्याप्त बजेट नछुट्याएका कारण अपुग रकम कतैबाट सहयोगमा नपाइएपछि ऋण खोजेर पनि तलब खुवाइएको अध्यक्ष खड्काको भनाइ छ । उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाले केन्द्रको अपनत्व लिएको भए पनि अपाङ्ग समाज सुधार कार्यसमितिले पूर्ण रूपमा सञ्चालन गरिरहेको छ ।
थेरापी सेन्टरमा हाल १९ जना कार्यरत छन् । त्यसमा नौ जना आवासीय रहेको र तीमध्ये नौ जनालाई साँझ–बिहानको खाना र दिउँसो नास्ता पनि ब्यहोर्ने गरिएको व्यवस्थापक हुमाकान्त कँडेलले बताउनुुभयो ।
विसं २०७८ चैतदेखि सञ्चालनमा ल्याइएको थेरापी सेन्टरबाट सबै सेवा निःशुल्क प्रदान हुँदै आएको छ, तर सरकारी निकायबाट अत्यावश्यक बजेटसमेत व्यवस्थापन हुनसकेको छैन । अपाङ्ग समाज सुधार केन्द्रकै दुईतले भवनमा सेन्टर सञ्चालनमा छ । आवश्यक सबै सामग्री पनि छन् ।
लुम्बिनी प्रदेशमा सरकारीस्तरबाट सञ्चालित दुईवटा मात्रै थेरापी सेन्टर रहेकाले यसलाई पनि सङ्घ र प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्ने सरोकार भएकाहरूको माग छ ।
रासस














