तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८१–८२ मा हल गोरु पाल्ने २७५ कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि प्रतिहलगोरुलाई चार हजारका दरले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो ।
कृषकलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम राखिएको गाउँपालिकाका पशु सेवा उपशाखाका पशु विकास अधिकृत मुक्ति राम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०८२–८३ का लागि ५ देखि ७ नम्बर गरी तीन वडाका कम्तीमा ४०० हलगोरु पाल्ने कृषकलाई अनुदान दिइने योजना रहेकाले सोहीअनुरूप बजेट समेत विनियोजन गरिएको छ ।
गाउँपालिकाले सातवटै वडाका कृषकलाई प्रोत्साहनस्वरूप अनुदान दिँदै आएको छ । गोरु पाल्ने कृषकलाई बर्सेनि नदिई एक–एक वर्षको अन्तरालमा अनुदान दिइने गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिन यस किसिमको कार्यक्रम ल्याइएको बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरुको प्रोत्साहनका लागि उपलब्ध गराइएको रकम गोरुको पोषणका लागि खर्च गर्न कृषकलाई सुझाव दिने गरिएको बताउनुभयो । यसरी अनुदान पाउने कृषकका गोठमा स्थलगत अनुगमन गरी गोरुलाई ‘ट्यागिङ’ गर्ने गरिएको सो गाउँपालिकाले जनाएको छ । रासस













