दाङ, ७ साउन ।
किसानको मागलाई मध्यनजर गरी हाम्रो पहुँच डेरी उद्योगको शाखा दुध संकलन केन्द्र तुलसीपुर–१७ मज्गैँमा विस्तार गरिएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले संचालनमा ल्याएको डेरीको शाखा मज्गैँमा विस्तार गरिएको हो । किसानले उत्पादन गरेको दुधको संकलन गर्ने गरी स्थापना गरिएको दुध संकलन केन्द्रको बुधबार उद्घाटन गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष थलराज पुरीले शाखाको उद्घाटन गर्नुभएको हो । डेरीको शाखा विस्तारसंगै किसानलाई दुधको बजारीकरणमा समेत सहजता हुने उहाँले बताउनुभयो ।
वडाअध्यक्ष पुरीले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारीले आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य भूमिका खेल्दै गएको भन्दै कृषि, शिक्षा, संचार लगायतका क्षेत्रमा हाम्रो पहुँच सहकारीको भूमिका शसक्त बन्दै गएको बताउनुभयो । उहाँले हाम्रो पहुँचले स्थापना गरेको डेरी उद्योगमा किसानले दुधको उचित मूल्य पाएको र यसले किसानलाई थप हौसला थपेको बताउनुभयो ।

यस्तै हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शुक्रराज भण्डारीले मज्गैँ दुध संकलन केन्द्रमा किसानले बजारकै मूल्य पाउने बताउनुभयो । उहाँले किसानलाई दुध उत्पादन बढाउनका लगि आग्रह समेत गर्नुभएको छ । मज्गैँ शाखामा दैनिक करिब १ हजार लिटर दुध संकलन गर्न सकिने उहाँले बताउनुभयो ।

यस्तै संस्थाका सल्लाहकार रामबहादुर वलीले किसानको सहजताका लागि मज्गैँमा शाखा विस्तार गरिएको बताउनुभयो । मज्गैँमा दुध संकलन केन्द्र विस्तारसंगै किसानले पनि खुशी व्यक्त गरेका छन् । किसान गोविन्द गौतमले मज्गैँमा डेरीको शाखा विस्तार भएकोप्रति खुशी व्यक्त गर्दै हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाप्रति आभार प्रकट गर्नुभयो । डेरी संचालन उपसमिति संयोजक दुर्गा प्रसाद जैशीको अध्यक्षता तथा वडा नम्बर १७ का अध्यक्ष थलराज पुरीको प्रमुख आतिथ्यतामा शाखाको उद्घाटन कार्यक्रम भएको हो ।
संस्थाका तालिम तथा अध्ययन उपसमिति संयोजक जीवराज अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले गर्नुभएको हो । शाखामा आजदैखि दुध संकलन शुरु भएको छ भने शाखाबाट दुग्धजन्य पदार्थ दुध, दही, घ्यु, पनिर लगायतका उत्पादन समेत बिक्रि वितरण हुन थालेका डेरी विभागका प्रमुख शिव पौडेलले बताउनुभयो ।















