२०८२ मङ्सिर ३ गते बुधवार

कम्मरदेखि मुनिको भाग चल्दैन, तीन वर्ष अघिदेखि ओछ्यानमै शुक्रराज


दाङ । सबै ठिकठाक चल्दै थियो, श्रीमान श्रीमति र एउटा सानो छोरा , दैनिक ज्याला मजदुरी गरेर भएपनि तीन जनाको परिवार सुखी थियो ।

तर तीन वर्षअघि २०७९ साल फागुनमा ४१ वर्षिय शुक्रराज कुमालमाथि ठुलो बज्रपात आइपर्‍यो । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार कोल्तरा निवासी कुमालको परिवार रोजगारीका लागि भारत सोलनमा थियो ।

श्रीमान श्रीमतीले भारतमै कृषि काममा मजदुरी गरेर जीवन गुजारा चलाइरहेका थिए । तर एक दिन शुक्रराजले लसुन खेतीमा रातको समयमा पानी चार्ने बेलामा बारीको ढिकबाट खसेर ढुंगामा बजारिन पुगेपछि अहिले उहाँको परिवार ठुलो समस्यामा छ ।

एउटा बारीबाट अर्कोबारीमा खसेर ढुंगामा बजाररिएका शुक्रराजको जीवन त बाँच्यो, तर कम्मरमुनिको भाग चल्न छोड्यो ।

रोजगारीको लागि भारत पुगेका कुमाल बिरामी शरिर लिएर घर फर्किनुपर्‍यो । अहिले उहाँ अर्काको सहारा बिना वरपर गर्न सक्नु हुँदैन् ।

उपचारका लागि तुलसीपुुर आइपुग्नु भएका शुक्रराज सहोदार दिदीको आफन्तको घरमा सानो कोठामा बस्नुभएको छ । भारतमा उपचार गर्दा १० लाख बढी खर्च भइसकेको श्रीमती सुन्तली कुमालले बताउनुभयो ।

‘अहिले तुलसीपुरमा पनि करिब डेढ लाख खर्च भइसकेको छ ।’ उहाँले भन्नुभयो–‘एकातिर खाने गास र बस्ने बासका लागि खर्च जुटाउनुपर्ने बाध्यता छ, अर्कोतिर श्रीमानको हेरचाह र उपचार, यसकारण हामी निकै समस्यामा परेका छौँ ।’

तुलसीपुर–७ जलधारा टोलमा शौचालय भन्दा सानो एउटा कोठामा बसिरहेको कुमाल परिवारसंग सम्पतिको नाममा एक टुक्रा जमिन पनि छैन् । दैनिक श्रम गरेर गुजारा चलिरहेको अवस्थामा शुक्रराजलाई चोट लागेपछि परिवार थप समस्यामा परेको छ ।

‘श्रीमतीले मजदुरी गरेको साँझ बिहानको छाकटार्न समेत मुस्किल छ भने उपचारमा समेत महिनामा ठुलो रकम खर्च भइरहेको छ ।’ शुक्रराजकी दिदी लालमती कुमालले भन्नुभयो–‘सानो कोठामा जसोतसो दिन काटीरहेको भाइको परिवार सर्पदंशको त्रासमा समेत रहेको छ ।’

श्रीमानको दिसापिसाव कोठाभित्रै हुन्छ । बाहिर आफै जान नसकेपछि पाइप जोडर पिसाव निकाल्ने गरिएको छ भने दिशा पनि काटिएको जर्कीनमा गर्ने गरिएको छ । बाध्यतामा जीवनको गुजारा चलाइराखेको कुमाल परिवार सहयोगको अपेक्षामा छ ।

कुमाल परिवारको दयनिय अवस्था देखेर छिमेकी गेमलाल भण्डारी घर बनाउन जग्गा समेत सहयोग गर्ने बताउनहुन्छ । ‘मैले जग्गा दिन सक्छु, तर घर नै बनाइदिने मसंग पनि पैसा छैन् ।’ उहाँले भन्नुभयो–‘अरु सहयोग भएमा घर बनाउनका लागि जग्गा दिन तयार छु ।’ शुक्रराजले पहिले राम्रो हुँदा गरेको श्रम र अहिलेको अवस्था देखेर उहाँले सहयोग लागि सबैमा अपिल समेत गर्नुभएको छ ।

भन्छन् एक थुकी सुकी, सय थुकी नदि । अर्थात धेरै जनाको थोरै थोरै सहयोगले पनि कुमाल परिवारलाई ठुलो सहयोग हुने थियो । समस्यामा परेको कुमाल परिवारलाई सहयोगका लागि सम्पूर्ण सहयोगी दाताहरुमा अपिल समेत गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस