तुलसीपुर । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्र्याक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा तुलसीपुर–६ स्थित शिखर कोलोनी टोलमा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
कार्यक्रम रोटरी क्लब अफ तुलसीपुर सिटीका कार्यवहाक अध्यक्ष देवेन्द्र केसीको अध्यक्षतामा क्लबको वार्षिक कार्यक्रम अन्तर्गत वृक्षारोपण गरिएको । वृक्षारोपण अभियानको उद्देश्य शहरी क्षेत्रमा बढ्दो धुलो, धुवाँ र प्रदूषण नियन्त्रण गर्नु, हरियाली विस्तार गर्नु, जलवायु परिवर्तनको असर घटाउनु तथा वातावरणीय सन्तुलन कायम गर्नु रहेको क्लबले जनाएको छ ।

अध्यक्ष केसीले वृक्षारोपण केवल रुख रोप्ने काम नभई समाज, वातावरण र भविष्यका लागि सन्देश दिने सकारात्मक पहल भएको बताउनुभयो ।
उहाँले स्वस्थ वातावरण, सुरक्षित जीवन र हरियाली पृथ्वीका लागि यस्ता अभियान आवश्यक रहेको पनि जोड दिनुभयो । विभिन्न प्रजातिका १०० भन्दा बढी बिरुवाहरू रोपिएको छ ।
कार्यक्रमको सहजीकरण सचिन पौडेलले गर्नुभएको हो । कार्यक्रममा क्लबका सदस्यहरू, स्थानीय युवा र बासिन्दाहरूको समेत सहभागिता रहेको थियो ।














