दाङ, ११ साउन । तुलसीपुरमा छाडा कुकुरको बिगबिगी बढेको छ । तुलसीपुर उपमहानगरपालिका–७ मा पछिल्लो समय छाडा कुकुरको आक्रमणबाट जनजीवन त्रसित बनेको हो । शुक्रबार मात्रै चौतारी टोलका पुनाराम भण्डारीको गोठमा छाडा कुकुरको आक्रमणबाट एउटा बाख्रो मरेको छ भने बोकाहरु घाइते भएका छन् ।
त्यसपछि सोही समूहका कुकुरले छिमेकी भागिरथ भण्डारी र गणेश टोलका केशव भण्डारीको गोठमा समेत आक्रमण गरेका थिए । यसअघि पनि मिलन टोलका टेकप्रसाद रिजाल, दुर्गाप्रसाद भण्डारी र बसन्त सुवेदीका बाख्रा र बोका कुकुरको आक्रमणबाट मरेका र घाइते भएका थिए ।
स्थानीय पद्मा पराजुलीका अनुसार, घाइते बाख्राको पेटको आन्द्रासम्म निकालिएको र ३० टाँका लगाएर उपचार गर्नुपरेको छ ।
छाडा कुकुरको त्रास जनावरसम्म सीमित छैन । केही दिनअघि विद्यालय जाँदै गरेका सात वर्षीय बालक रोशन चौधरीलाई पनि कुकुरको झुण्डले आक्रमण गरेका थिए भने चौतारी टोलका वीरप्रसाद भण्डारी र लुमा डिसीलाई समेत टोकेको छ ।
स्थानीयहरुका अनुसार कुकुर खोल्सा र बारीमा लुकेर बस्ने र मौका पाए गोठमा पसेर आक्रमण गर्ने गरेका छन् । घटनापछि वडाध्यक्ष रामबहादुर जिसीले छाडा कुकुर व्यवस्थापन, घाइते पशुको उपचार र पीडित किसानलाई क्षतिपूर्तिको प्रक्रिया तत्काल अघि बढाउने बताउनुभएको छ ।













