बर्दिया, १२ साउन । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब बढीको बजेट निर्माण गरेको छ । बर्दियामा तीन दिनसम्म सञ्चालित कार्यशालाबाट १ अर्ब १२ करोड ९ लाख ३६ हजार ९७३ रुपियाँ बराबरको बजेट तर्जुमा गरिएको हो ।
संस्थाले बितेको आर्थिक वर्ष २०८१/८२ मा ९४ करोड ५९ लाख २ हजार ४८२ रुपियाँको बजेट प्रक्षेपण गरेकाेमा लक्ष्यभन्दा बढी कारोबार गर्न सफल भएको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले बितेको आर्थिक वर्षमा ९७ करोड १५ लाख ५३ हजार रुपियाँको कारोबार गरेको छ ।
कार्यशालाले यस वर्ष चार वटा कार्यविधि संशोधन र एउटा नयाँ कार्यविधि निर्माण गरेको छ । संशोधन गरिएका कार्यविधिहरुमा मानव संसाधन, बचत तथा ऋण, साधारणसभा तथा निर्वाचन र आर्थिक प्रसाशन कार्यविधि रहेका छन् । यस्तै बीमा कार्यविधि २०८२ निर्माण गरिएको छ ।
संस्थाले सञ्चालन गरेका सबै विभाग र मुख्य कार्यालयले आर्थिक वर्ष २०८२/२०८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा छलफल गरी नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।
यस्तै संस्थामा कार्यरत स्थायी कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा संस्थाले आबद्ध गराउने निर्णय गरेको छ । संस्थाले तुलसीपुर ७ झुमरेमा रहेको आफ्नै जग्गामा सुविधा सम्पन्न १६ कोठाको भवन चालु आर्थिक वर्षमा निर्माण गर्ने लक्ष्य राखेको छ ।
संयुक्त बैठकले स्वीकृत गरेका नीति,कार्यक्रम,बजेट र संशोधित कार्यविधि तथा नयाँ बनेको कार्यविधिलाई अन्तिम स्वीकृतिका लागि साधारण सभामा लैजाने निर्णय गरेको छ ।
गतवर्ष भन्दा यसवर्ष संस्थाकाे वासलातमा १० कराेडले वृद्धि भएकाे छ । यस्तै सदस्य संख्या यसवर्ष ७३५ ले वृद्धि गरि जम्मा ४ हजार ७ सय ६५ सदस्य संख्या पुगेकाे छ । बर्दियाको ठाकुरद्वारामा शनिबारदेखि शुरु भएको कार्यशाला सोमबारसम्म संचालन भएको हो ।















