२०८३ साउन ६ गते बुधवार

परदेशको पीडा भोगेर गाउँमै सफलता : पशुपालनबाट मासिक डेढ लाख आम्दानी गर्दै ओली

तुलसीपुर । एक समय रोजगारीको सपना बोकेर विदेश पुगेका तुलसीपुर उपमहानगरपालिका–१९ सक्रामका ३१ वर्षीय देवराज ओली आज आफ्नै गाउँमा सफल पशुपालक किसानका रूपमा परिचित हुनुहुन्छ ।

परदेशमा दुःख, पीडा र स्वास्थ्य समस्या भोगेका ओलीले अहिले पशुपालन व्यवसायबाट आत्मनिर्भर मात्र बन्नुभएको छैन, गाउँका अन्य युवाका लागि प्रेरणाको स्रोत समेत बन्नुभएको छ ।

व्यावसायिक यात्राको सुरुवात र वैदेशिक रोजगारको तितो अनुभव
बुवाआमाले गर्दै आएको पशुपालनको परम्परागत पेसालाई आधुनिक व्यवसायमा रूपान्तरण गर्ने अठोटका साथ ओलीले २०७३ सालदेखि व्यावसायिक रूपमा पशुपालन सुरु गर्नुभयो ।

त्यसअघि उहाँ खसीबोका खरिद–बिक्री व्यवसायमा सक्रिय हुनुहुन्थ्यो । रोल्पाको रुन्टीगढी, होलेरी र सल्यानको कपुरकोट लगायतका क्षेत्रबाट खसीबोका खरिद गरेर बिक्री गर्ने उहाँको व्यवसाय राम्रै चलिरहेको थियो ।

त्यो समय नेपालमै बसेर मासिक दुई लाख रुपैयाँसम्म नाफा हुने गर्थ्यो ।

तर, भविष्यका अझ ठूला सपना बोकेर उहाँ मलेसिया पुग्नुभयो ।

करिब एक वर्ष चार महिना विदेश बस्दा भने उहाँले अपेक्षित सफलता पाउनुभएन । मेसिनहरूको बीचमा निरन्तर काम गर्दा कानको जाली नै फुट्ने अवस्था आयो ।

अन्ततः उपचारका लागि विदेश बस्ने सम्झौता अवधि पूरा नगरी उहाँ नेपाल फर्किनुपर्‍यो । नेपाल फर्कन मात्रै करिब दुई लाख ५० हजार रुपैयाँ खर्च भयो भने उपचारमा थप डेढ लाख रुपैयाँ सकियो ।

यति धेरै खर्च गर्दा पनि उहाँको एउटा कानको सुनाइ अझै पूर्ण रूपमा फर्किएको छैन । ‘विदेशले मलाई पैसा भन्दा बढी पीडा दियो ।’ ओली भन्नुहुन्छ–‘त्यसपछि आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोच आयो ।’

बाख्रापालन हुँदै गाईभैंसीतर्फ आकर्षण
नेपाल फर्किएपछि उहाँले सुरुमा बाख्रापालन व्यवसाय सुरु गर्नुभयो । करिब पाँच लाख रुपैयाँ खर्च गरेर खोर निर्माण गर्नुका साथै बाख्रा खरिद र व्यवस्थापनमा थप लगानी गर्नुभयो । एक समय उहाँसँग झण्डै ८० वटा बाख्रा थिए । तर, वर्षायाममा घाँस व्यवस्थापन गर्न कठिन हुनुका साथै खर्च बढ्दै गएपछि उहाँले व्यवसायको दिशा परिवर्तन गर्नुभयो ।

त्यसपछि उहाँ गाईभैंसी पालनतर्फ लाग्नुभयो । बुवाआमाले पहिलेदेखि पाल्दै आएका दुई वटा भैंसीमा थप दुई वटा गाई थपेर व्यवसाय सुरु गर्नुभयो । सुरुवाती चरणमा करिब चार लाख रुपैयाँ लगानी गरेर सुरु गरिएको व्यवसाय अहिले ठूलो स्वरूपमा विस्तार भइसकेको छ ।

हाल उहाँको फर्ममा पाँच वटा भैंसी, होलस्टिन क्रस र जर्सी जातका गाईसहित दर्जनभन्दा बढी पशु रहेका छन् । दैनिक करिब १०० लिटर दूध उत्पादन हुने गरेको उहाँ बताउनुहुन्छ ।

सहकारीको साथ र बजार व्यवस्थापन
व्यवसाय विस्तारसँगै दूध बिक्रीको समस्या पनि सुरु भएको थियो । गाउँमै सीमित मात्रामा दूध बिक्री हुने भएकाले उत्पादन बढेपछि बजार खोज्न कठिन भयो । यही क्रममा उहाँ तुलसीपुर–७ झुमरेमा अवस्थित हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य बन्नुभयो । सहकारी अन्तर्गत सञ्चालित हाम्रो पहुँच डेरी उद्योगमा दूध बिक्री गर्न थालेपछि उहाँको व्यवसायले नयाँ गति लियो ।

‘पहिले दूध बेच्ने ठाउँ नपाएर चिन्ता हुन्थ्यो, सहकारीमा जोडिएपछि दूध बिक्री गर्न सहज भयो र उचित मूल्य पनि पाइयो’ उहाँले भन्नुभयो ।

डेरीले दूधको गुणस्तर परीक्षण गरेर खरिद गर्ने भएकाले उत्पादनको गुणस्तरअनुसार उचित मूल्य प्राप्त भएको उहाँको भनाइ छ ।

सहकारीमार्फत राज्यबाट उपलब्ध हुने विभिन्न सेवा–सुविधा, दाना, औषधि तथा अनुदानका कार्यक्रमबारे जानकारी पाउन थालेपछि व्यवसाय सञ्चालन गर्न झनै सहज भएको उहाँ बताउनुहुन्छ ।

करिब डेढ वर्षदेखि उहाँ नियमित रूपमा डेरीमा दूध बिक्री गर्दै आउनुभएको छ । उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन उहाँले आफ्नै अटो खरिद गर्नुभएको छ । हरेक बिहान १५० लिटर र साँझ ५० लिटर दूध लिएर उहाँ स्वयं अटो चलाउँदै डेरी पुग्नुहुन्छ । बिहान साढे ६ बजे र साँझ साढे ४ बजेतिर डेरीमा दूध पुर्‍याउने उहाँको दैनिक दिनचर्या बनेको छ ।

आधुनिक प्रविधि र पारिवारिक श्रमको मिश्रण
घाँस तथा भुस व्यवस्थापनका लागि उहाँले ट्याक्टर समेत खरिद गर्नुभएको छ र त्यसलाई पनि आफैंले चलाउने गर्नुभएको छ । हाल उहाँले करिब १४ कठ्ठा जमिनमा घाँस खेती गर्नुभएको छ, जसले १४–१५ वटा गाईभैंसीका लागि आवश्यक आहार उपलब्ध गराइरहेको छ ।

पशुपालन व्यवसायसँगै ओलीको परिवारले किराना पसल पनि सञ्चालन गरिरहेको छ । बाहिरी कामदार नराखी परिवारकै सदस्यहरूको श्रमबाट सञ्चालन भइरहेको व्यवसायबाट मासिक खर्च कटाएर करिब एक लाख ५० हजार रुपैयाँसम्म खुद आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।

जीवनस्तरमा सुधार र आगामी लक्ष्य
व्यवसायको सफलताले उहाँको जीवनस्तरमा उल्लेखनीय परिवर्तन ल्याएको छ । पशुपालनबाट प्राप्त आम्दानीले घरघडेरी र जग्गाजमिन खरिद गर्नुभएको छ भने सहकारीमा नगद पनि बचत रहेको उहाँ बताउनुहुन्छ ।

सहकारीमा आबद्ध भएपछि बचत गर्ने बानीको विकास भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो–‘पहिले जति पैसा आयो घरमै राख्ने बानी थियो, सहकारीमा जोडिएपछि वचत गर्ने बानीको विकास भयो । अहिले व्यवसायबाट मात्रै होइन, बचत र लाभांशबाट पनि फाइदा भइरहेको छ ।’

व्यवसाय विस्तारका लागि उहाँले सहकारीमार्फत २५ लाख रुपैयाँ ऋण समेत लिनुभएको छ । सोही ऋणको उपयोग गरेर फर्म र पसल विस्तार गरिएको उहाँ बताउनुहुन्छ । अहिले उहाँले सबै गाईभैंसीको बीमा समेत गराउनुभएको छ ।

व्यक्तिगत सफलतासँगै उहाँले गाउँका अन्य किसानलाई पनि पशुपालनतर्फ आकर्षित गरिरहनुभएको छ । हाल करिब १५ घरधुरी उहाँसँगै दूध उत्पादनमा जोडिएका छन् । भविष्यमा सक्राम क्षेत्रलाई दूध उत्पादनको ‘विशेष क्षेत्र’का रूपमा विकास गर्ने उहाँको सपना छ ।

पशुपालन क्षेत्रमा निरन्तर योगदान पुर्‍याएबापत यस वर्ष सहकारीको वार्षिकोत्सवमा उहाँ ४३ हजार रुपैयाँ नगदसहित सम्मानित समेत हुनुभयो । ओलीको अनुभवमा नेपालमा अवसरको कमी छैन, कमी छ त केवल आँट र मेहनतको ।

‘नेपालमा काम छैन भन्ने सोच त्याग्नुपर्छ ।’ उहाँ भन्नुहुन्छ–‘मेहनत गर्ने हो भने आफ्नै गाउँघरमा बसेर सम्मानजनक आम्दानी गर्न सकिन्छ । विदेशमा दुःख गरेर कमाउनुभन्दा आफ्नै माटोमा पसिना बगाउँदा धेरै सन्तुष्टि मिल्छ ।’

परदेशको पीडा, संघर्ष र चुनौतीलाई अवसरमा बदल्दै गाउँमै सफल उद्यमी बनेका देवराज ओली आज आत्मनिर्भरताको एउटा सशक्त उदाहरण बन्नुभएको छ । उहाँको यात्रा एक किसानको सफलताको कथा मात्र होइन, स्वदेशमै सम्भावना खोज्न चाहने हजारौं युवाका लागि प्रेरणादायी सन्देश पनि हो ।

प्रतिक्रिया दिनुहोस