दाङ । घोराहीको सयपत्री बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीले तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्थाको अवलोकन गरेका छन् । उनिहरुले सोमबार हाम्रो पहुँचले संचालन गरेका सबै विभागबारे जानकारी लिएका हुन ।
सहकारीका अध्यक्ष भुमानसिङ खड्का, उपाध्यक्ष सरस्वती खत्री, सचिव रामबहादुर ओली लगायतको टिमले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारी, प्रमुख कार्यकारी अधिकृत डिआर भण्डारीलगायतको उपस्थितीमा संस्थाको बारेमा अध्ययन तथा अवलोकन गरेको हो ।
संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले अवलोकनका लागि आएको सयपत्री बचत तथा ऋण सहकारी संस्थाका सम्पूर्ण पदाधिकारीलाई हाम्रो पहुँच सहकारी स्थापनाको उद्देश्य, संचालन प्रक्रिया, व्यवसायका प्रकृति, सहकारीको हालको अवस्था, सहकारीले निर्माण गरेका कार्यविधि लगायतका बारेमा जानकारी गराउनुभएको छ ।
उहाँले सकेसम्म सहकारीका सदस्यको कारोबारलाई बाहिर जान नदिने गरी संस्थाले विभिन्न किसिमका व्यवसाय संचालन गरेको बताउनुभयो । निति र विधिभित्र संचालन भएमा कुनै व्यवसाय घाटामा नजाने उहाँले बताउनुभयो ।
यस्तै सयपत्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भुमानसिङ खड्काले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाबाट धेरै कुराको जानकारी तथा ज्ञान लिनका लागि सहकारीको टिम नै अवलोकनका लागि आएको बताउनुभयो । उहाँले सहकारीले सदस्यको लगानीलाई उत्पादनमूलक क्षेत्रमा लगाउनका लागि हाम्रो पहुँचले संचालन गरेको व्यवसायको सिको पनि गर्न सकिने बताउनुभयो ।



















