दाङ । शारदा पौडेल माछापालक किसान हुनुहुन्छ । दाङको लमही नगरपालिका–३ मा उहाँको न्यू स्वर्गद्वारी कृषि फर्म छ । उहाँले साढे ६ बिगाह जग्गा भाडामा लिएर माछापालन गर्नु भएको छ । उहाँको दैनिकी पोखरीमा रहेको माछालाई हेरचाह गदै बित्ने गरेको छ ।
माछापालन गर्नु अघि उहाँले फेन्सी पसल गर्नुहुन्थ्यो । फेन्सी पसलबाट भनेजस्तो व्यापार नभएपछि शारदाले माछापालन व्यवसाय रोज्नुभयो ।
पहिले फेन्सी पसलमा रंगीचंगी लुगा बेच्ने शारदा अहिले घरबाटै थरीथरीका माछा बिक्री गर्नुहुन्छ । थोरै लगानीमा पनि राम्रो आम्दानी हुने भएपछि माछापालन व्यवसाय सुरु गरेको उहाँको भनाई छ ।
उहाँले वार्षिक रुपमा करिब ७० सय टन माछा बिक्रि गदै आउनुभएको छ । उहाँले माछा बिक्रि गरेर वार्षिक २० लाख रुपैंया आम्दानी गर्नुहुन्छ । उत्पादित माछा आसपासका बजार घोराही, तुलसीपुरमा जाने गरेको छ भने सिजनमा जिल्ला बाहिर पनि जाने गरेको छ ।
उहाँले दुई वर्षदेखि प्रतिफलमा आधारित अनुदान पनि प्राप्त गरिसक्नुभएको छ । गत आर्थिक वर्षमा ६ लाख ७६ हजार २० रुपैयाँ र चालु आर्थिक वर्षमा ६५ हजार दुई सय ४५.५ किलो माछा उत्पादन गरे वापत ७ लाख ३८ हजार ९०५ रुपैयाँ अनुदान प्राप्त गर्नुभएको छ ।
प्रदेश सरकारले माछापालक किसानलाई प्रतिफलमा आधारित अनुदान दिएर अझ हौसला बढाएको उहाँले बताउनुभयो । ‘अनुदानले माछापालन व्यवसाय अगाडि बढाउन निकै सहयोग पुग्यो ।’–पौडेलले भन्नुभयो–‘अगामी दिनमा अनुदानसंगै किसानहरुलाई विद्युत्मा छुट, औषधि उपचार, प्राविधिक ज्ञान दिने कार्यक्रम ल्याएमा किसानलाई सहज हुनेछ ।’

यस्तै लमही नगरपालिका–१ का पुरण चौधरी बिगत ७ वर्षदेखि माछापालन गदै आउनु भएको छ । सुरुमा ११ कठ्ठामा माछापालन गरेका चौधरीले अहिले बढाएर सवा दुई बिघा क्षेत्रफलमा पाँचवटा पोखरी निर्माण गरेर माछापालन व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ ।
चौधरीले पहिले तरकारी खेति गर्नुहुन्थ्यो । ‘अहिले माछापालन गरेको जग्गा तरकारी खेति गरे, तर तरकारी खेतिबाट आम्दानी राम्रो नभएपछि माछापालन सुरु गरे ।’ उहाँले भन्नुभयो– ‘अहिले माछालन व्यवसायमा सन्तुष्ट छु ।’ वार्षिक २२ देखि २५ टनसम्म माछा बिक्री हुने गरेको छ ।’ सुरुवाती चरणमा ६५ लाख लगानीमा माछापालन गरेका चौधरीले अहिलेसम्म ३५ लाख रुपैयाँ आम्दानी गरेको बताउनुभयो ।
गत वर्ष दुई लाख ३१ हजार ३१५ रुपैंया अनुदान पाएका उहाँले चालु वर्षमा दुई लाख ५६ हजार १६० रुपैंया अनुदान प्राप्त गर्नु भएको छ । गत वर्षदेखि प्रतिफलमा आधारित अनुदान पाएपछि व्यवसायमा अझ सहजता थपेको उहाँको भनाई छ । ‘माछालाई खुवाउने दाना महङगो छ।’ उहाँले भन्नुभयो–‘अनुदान पाएको रकमले माछाको लागि दाना किन्न सहयोग पुग्ने छ ।’

लमही नगरपालिका–३ का अमर लामाले पनि २०६३ सालदेखि माछापालन गदै आउनुभएको छ । ‘लामा फीस हाउस’ सञ्चालन गर्दै उहाँले सुरुवात देखि नै ७ बिगाह जग्गा भाडामा लिएर माछापालन सुरु गर्नुभयो । युवाहरु विदेश पलायन भइरदा उहाँले नेपालमै केही गर्ने उद्देश्यले माछापालन सुरु गरेको बताउनुभयो ।
पहिले धान, गहु, मसुरो उत्पादन हुने जमिनमा अहिले माछापालन व्यवसाय फस्टाएको छ । सुरुवाति चरणमा प्रति किलो ३० देखि ८० रुपैयासम्म माछा बिक्रि गरेका लामा अहिले फर्मबाटै प्रति किलो ३ सय रुपैंयाका दरले बिक्रि गर्नुहुन्छ । हाल उहाँको फार्मबाट वार्षिक ४० देखि ५० टन माछा उत्पादन हुन्छ । जसबाट ८ देखि १० लाख रुपैयाँ आम्दानी हुने गरेको छ ।
उहाँले २०७२ सालमा नेपाल सरकारबाट ५० प्रतिशतमा ९ लाख ७० हजार रुपैयाँ बराबरको अनुदान पाउनुभएको थियो । चालु आर्थिक वर्षमा उहाँले ४६ हजार नौ सय ८८ दशमलव पाँच किलो माछा उत्पादन गरेवापत ५ लाख ३२ हजार रुपैंया अनुदान प्राप्त गरेको बताउनुभयो । सरकारले किसानहरुलाई प्रतिफलमा आधारीत अनुदानले व्यवसाय गर्ने हौसला प्रदान गरेको उहाँको भनाई छ ।
शारदा, पुरण र अमर त अनुदान पाउने प्रतिनिधि मूलक पात्र मात्र हुनुहुन्छ । उहाँहरु जस्तै दाङमा माछापालन गर्ने ८ जना किसानले पनि अनुदान प्राप्त गरेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका अनुसार सहकारी तथा फर्मले वार्षिक १० टन माछा र निजी क्षेत्रको एक हजार केजीको कारोबार भएको हुनुपर्ने मापदण्ड छ । दाङमा बितेको आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले माछापालन किसानहरुको लागि ५९ लाख बजेट बिनियोजन गरेको थियो ।
जसमा प्रतिफलमा आधारित चार जना किसानले १९ लाख ७८ हजार ५ सय ११ रुपैयाँ अनुदान प्राप्त गरेका छन् । यस्तै कार्यक्रमतर्फ पोखरी निर्माण, प्राकृतिक ताल निर्माण लगायतका कार्यक्रममा २० लाख ५९ हजार ८ सय ८१ रुपैया प्राप्त गरेका छन् । उक्त रकम १४ जनाले पाएको कार्यालयका सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले माछापालन किसानहरुको लागि ६१ लाख ८४ हजार रुपैंया बजेट बिनियोजन गरेको थियो । जसमा प्रतिफलमा आधारित चार जना किसानले १२ लाख ९० हजार ९ सय ६० रुपैयाँ अनुदान प्राप्त गरेका थिए । यस्तै कार्यक्रमतर्फ पोखरी निर्माण,प्राकृतिक ताल निर्माण लगायतका कार्यक्रममा १७ जना किसानले २४ लाख ५० हजार ४ सय २९ रुपैया प्राप्त गरेको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।

वितेको आर्थिक वर्ष २०८१/८२ मा न्यू स्वर्गद्वारी कृषि फर्म लमही– ३ लाई ६५ हजार दुई सय ४५ दशमलव पाँच किलो उत्पादन वापत सात लाख ३८ हजार नौ सय पाँच रुपैयाँ ३० पैसा, लामा फिस हाउस लमही– ३ लाई ४६ हजार नौ सय ८८ दशमलव पाँच किलो उत्पादन वापत पाँच लाख ३२ हजार एक सय ४४ दशमलव ८०, पोख्रेल माछा फर्म लमही– ३ लाई ३९ हजार आठ सय ५० किलो माछा उत्पादनवापत चार लाख ५१ हजार तीन सय एक रुपैयाँ ३० पैसा र निक मत्स्य पालन लमही– १ लाई २२ हजार छ सय १९ किलो माछा उत्पादनवापत दुई लाख ५६ हजार एक सय ६० रुपैयाँ २० पैसा अनुदान दिइएको कार्यालयले जनाएको छ ।
बढ्दै माछा उत्पादन
दाङमा माछापालन व्यवसाय गर्ने किसानहरूको सङ्ख्या बढेसँगै माछा उत्पादनमा वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका मत्स्य विकास अधिकृत प्रेम चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०७९/८० मा ७०३ मेट्रिक टन माछा उत्पादन भएकोमा हाल वार्षिक उत्पादन बढेर १ हजार मेट्रिक टन पुगेको छ । दाङमा २८८ जना किसान माछापालन व्यवसायमा आबद्ध छन् । यस्तै आर्थिक २०८०/२०८१ मा २८२ जना किसान माछापालनमा संलग्न थिए भने बितेको आर्थिक वर्षमा ६ जना नयाँ किसान थपिएको मत्य अधिकृत चौधरीले बताउनुभयो ।
चार पालिकामा माछापालन बढी
दाङमा घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र राप्ती गाउँपालिकामा माछापालन बढी हुने गर्दछ । । दाङमा हाल करिब १९५ हेक्टर क्षेत्रफलमा माछापालन भइरहेको छ । अहिले झन्डै चार सय पोखरी निर्माण गरिएको छ ।
मत्स्य अधिकृत चौधरीका अनुसार कार्यालयले किसानलाई पोखरी निर्माणदेखि माछाका भुर्रा निर्यातसँगै प्रविधिमैत्री जलाशय बनाउनका लागि सहयोग गर्दै आएको छ । जिल्लामा माछापालन व्यवसाय बढ्दै जाँदा माछामा आत्मनिर्भर बन्नेतर्फ अघि बढेको मत्स्य विकास अधिकृत चौधरी बताउनुभयो ।
उहाँका अनुसार अहिले जिल्लामा बाहिरबाट माछा ल्याउनुपर्ने बाध्यता हटेको छ । ‘सिजनमा जिल्लामा माछा उत्पादन धेरै हुने गरेको छ । जिल्लामा खपत भएको माछा रोल्पा, सल्यान र रुकुमसम्म जाने गरेको छ’ चौधरीले भन्नुभयो–‘माछा उत्पादन बढेसँगै आन्तरिक उत्पादनले बजार धान्न थालेको छ ।’ उहाँका अनुसार पछिल्लो समय करिब पाँच प्रतिशत मात्रै माछा बाहिरबाट आउने गरेको छ ।
दाङमा विशेषगरी पंगास, कार्प, कमन कार्प, ग्रास र बैखा जातका माछा उत्पादन हुने गरेका छन् । कुल उत्पादनमध्ये करिब ७० प्रतिशत पंगास माछा उत्पादन हुने गरेको छ । पछिल्लो समय सानो साइजका छडि जातका माछा पनि अत्यधिक उत्पादन भइरहेको कार्यालयले जनाएको छ ।
जिल्लामा वार्षिक रूपमा उत्पादन हुने माछाको बजार भने बाह्रै महिना धान्ने अवस्थामा अझै पुग्न भने सकेको छैन । हालसम्म जिल्लामा १८ वटा माछा फ्रेस हाउस दर्ता भएका छन् । ती फ्रेस हाउसहरूमार्फत माछाको बजार व्यवस्थापन गरिएको चौधरीले बताउनुभयो । बजारीकरणका लागि वितेको आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा ८८ हजार रुपैयाँ मात्र खर्च भएको छ ।

पोखरी निर्माणका लागि वितेको आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा ८ लाख ९७ हजार रुपैयाँ खर्च भएको छ । पोखरी मर्मतका लागि विनियोजित १५ लाख रुपैयाँमध्ये ६ लाख ८८ हजार रुपैयाँ खर्च भएको छ ।
औषधि उपचारका पशुपंक्षि तथा मत्य विकास निर्देशनालयबाट २ लाख ४० हजार र कार्यालयबाट ५० हजार रुपैयाँ कार्यालयबाट खर्च गरिएको छ ।
व्यावसायिक रूपमा माछापालन गर्ने कृषकको आकर्षण बढ्दै गएको र राज्यले माछापालनका लागि कृषकलाई पनि सहुलियत प्रदान गर्ने नीति बनाएकाले यसतर्फ व्यवसायीहरूको आकर्षण बढेको छ ।















