२०८२ मङ्सिर ३ गते बुधवार

प्रसुति रोग विशेषज्ञ नहुँदा सेवाग्राही समस्यामा


दाङ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विदामा बसेपछि सेवाग्राही समस्यामा परेका छन् । बिगत करिब १० दिन देखि डाक्टर बिनोद सिंह बिदामा बसेपछि सेवा सेवाग्राही समस्याा परेका हुन् ।

अस्पतालमा एक जना मात्रै प्रसुति रोग विशेषज्ञ हुँदा यो समस्या आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले बताउनुभयो ।

अस्पतालमा अन्य प्रसूति रोग विशेषज्ञ डाक्टर नहुँदा शल्यक्रियाका लागि बिरामीलाई बाहिरी जिल्लामा पठाउनु परेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

अस्पतालमा थप डाक्टर पठाउन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रीलाई पटक–पटक जानकारी गराउँदा पनि अहिलेसम्म उपलब्ध नगराएको उहाँले बताउनुभयो । तुलसीपुरमा आउने डाक्टरलाई अर्घाखाँची र पाल्पा पठाइएको उहाँको भनाई छ ।

न्यौपानेका अनुसार अस्पतालमा बिरामीको चाप बढ्दो क्रममा छ भने जनशक्ति अभावका कारण सेवाग्राहीले थप समस्या भोग्नुपरेको छ । यसैबीच अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डाक्टर पदमराज अधिकारीले केहि दिनअघि पदबाट राजीनामा दिनुभएको थियो । अस्पताल परिसरका सटरहरु भाडामा दिन टेन्डर प्रक्रिया अघि बढाउने तयारी गर्दा राजनीतिक दबाबका कारण प्रक्रिया अवरुद्ध भएपछि एक साताअघि उहाँले राजीनामा दिनुभएको हो ।

तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको पालामा मेसुमा नियुक्त भएका अधिकारीले हाल चौधरीको साथ नपाएपछि राजीनामा दिनुभएको हो । तर कांग्रेस निकटकै मेशु नियक्त गर्ने तयारी रहे पनि अस्पतालमा सो जनशक्ति नरहेकाले बाहीरी जिल्लाबाट सरुवा गरेर मेशु ल्याउने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

तर मेसुको राजीनामा अझै स्वीकृत नभएको अध्यक्ष न्यौपानेले बताउनुभयो । उहाँका अनुसार नयाँ मेसु नियुक्तिका लागि प्रदेश सरकारसँग कुराकानी भइरहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस