दाङ । बारीको डिलबाट खसेर कम्मरभन्दा मुनिको भाग नचल्ने भएपछि बिगत तीन वर्षदेखि ओछ्यानमै रहनुभएका शुक्रराज कुमाललाई आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
दाङको लमही नगरपालिका–९ घर भई तुलसीपुर–७ मा डेरामा बस्दै आएका कुमाललाई आइतबार समाजसेवी तुलसीपुर–७ जितपुर निवासी उपेन्द्र पौडल र घोराही–१५ निवासी समाजसेवी रविन ज्ञवालीले नगद पाँच हजार सहयोग गर्नुभएको हो ।
कुमाललाई पौडेलले २ हजार र ज्ञवालीले ३ हजार नगद सहयोग गर्नुभएको हो । समस्यामा परेका कुमाललाई सबैको सहयोग आवश्यक रहेको समाजसेवी रविन ज्ञवालीले बताउनुभयो । उहाँले केहि भएपनि सहयोग पुगोस् भनेर नगद सहयोग गरिएको बताउनुभयो ।
यस्तै समाजसेवी उपेन्द्र पौडेलले मानविय सहयोग नै सबैभन्दा ठुलो धर्म रहेको भन्दै आर्थिक अभावकै कारण उपचारसमेत पाउन नसकेका कुमाललाई सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कुमाल समस्यामा परेको खबर केहि दिनअघि रेडियो हाम्रो पहुँचबाट प्रशारण तथा अनलाइन संस्करणमा प्रकाशन भएको थियो । समाचार बाहिर आएपछि अहिले सहयोग उठ्ने क्रम जारी रहेको स्थानीय समाजसेवी गेमलाल भण्डारीले बताउनुभयो ।















