२०८२ माघ ५ गते सोमवार

वस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता लाभग्राहीको कार्ड नविकरण

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ ले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई झन्झट कम होस् भन्ने उद्देश्यले वस्तीमै पुगेर कार्ड नविकरण तथा नयाँ लाभग्राहीको सुचिकरण गर्न थालेको छ ।

वडाले आइतबार वडा सदस्य मानबहादुर रानाको घरमा पहिलो चरणको नविकरण गरेको छ । त्यस्तै सोमबार आजदेखि २३ गतेसम्म सुन्दर बस्तीस्थित वडा अध्यक्ष रामबहादुर जिसीको घरमा र साउन २५ र २६ गते माध्यमिक विद्यालय कालाखोलामा कार्ड नविकरण गरिनेछ ।

वडा अध्यक्ष जिसीका अनुसार अन्य लाभग्राहीले भने साउन महिनाभर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म वडा कार्यालयमै कार्ड नविकरण गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

वृद्धा, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई कार्यालयसम्म आउन गाह्रो हुने भएकाले वस्तीमै पुगेर सेवा पुर्‍याइएको उहाँले बताउनुभयो । वडाले वस्तीमै पुगेर कार्ड नविकरण गर्न थालेपछि सम्बन्धित लाभग्राहीले धन्यवाद ज्ञापन गरेका छन् ।

वडाको अभियानले भत्ता पाउने लाभग्राहीलाई लामो यात्रा गर्नुपर्ने, घामपानी सहनुपर्ने वा घण्टौँ लाइनमा बस्नुपर्ने झन्झट हटाएको छ । सामाजिक सुरक्षा भत्ता नविकरणपछि लाभग्राहीले नियमित रुपमा आफ्नो भत्ता पाउने सुनिश्चित हुने भएकाले सबैले भदौ मसान्तभित्र कार्ड नविकरण गरिसक्नुपर्ने वडा कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस