बिहानै मूड राम्रो बनाएर हिड्छु भनि मुस्कान सहित मिक्सरमा मस्यौरा घोटेको जस्तै आत्मबल बनाएर, कपालमा तेल लगाएर, जुत्ता टल्काएर, सडकतिर हुईकिदै थिएँ । भलादमी देखिने सपना साथमा बोकेर । तर हजुर, यसो केही मिनेट हुईकिएपछि जिन्दगीले मलाई फेरि सम्झायो । “तँ भलादमी होइनस, बलजफ्ती जिन्दगी बाँचिरहेको सर्वसाधारण होस ।”
गन्तव्य भन्दा अगाडि, पहिलो झम्काभेट बुलेट बाईकको शोरुम साउ( साथी) संग भयो ।“तपाईं जस्तो मानिसलाई यो सानो खटारो बाईकले शोभा दिँदैन, बुलेट चढ्नुस ! आत्मविश्वास आउँछ । दम आउँछ ।”
मैले हाँस्दै भने-“साथि, दम त आउँछ होला, तर मेरो जिन्दगीमा पेट्रोलको रेटले नै दम कसेको छ । बुलेट होइन, यतिबेला बुटले टेक्नुपर्छ ।”
त्यही वेला इभि गाडीको शोरुम साउ भेटीए उनले थपे–“अब त इभि चढ्ने समय हो । पेट्रोल ? त्यो त पुरानो कुरा हो । तपाईं इभि लिएर सिधै सस्तो चार्ज गर्न सक्नु हुन्छ पैसाको बचत ।”
मैले उनलाई भने – “सित्तैमा इभि आउदैन होला, पैसा खर्च हुन्छ कि बचत ? ल भन्नुस त ? खै कसको विश्वास गर्नु, अघिल्लो सरकारले अब नेपालमा विद्युुत् फालाफाल हुन्छ इभि गाडी खरिद गर्दा हुन्छ भन्यो । अहिले प्राधिकरणका प्रमुखले जलविद्युतमा लगानी आवश्यक छैन् भनिसके ।” मोबाइल चार्ज गर्न करेन्ट आउँदैन, गाडी चार्ज गर्न युपियस किन्नुपर्ने हो कि? हामीले गाडी किन्न त गार्हो छ बरु तपाईंको गाडी चड्न चाहि सक्छु ।
टि सपमा बसेर चिया खादै थिए । जीवन बीमा एजेन्टले बोलाएर गफ जोत्न थालिहाले । “जीवन त अनिश्चित छ, बिमा गर्नुहोस्, नत्र जोखिममा पर्नु होला ।”
अनि उनलाई भने- “जोखिम नभएको क्षेत्र कहाँ छैन् र । पहिले पैसा निश्चित हुनुपर्ला नि ! त्यति भनिसक्दा–नसक्दै अर्को एक जनाले हात समाएर आफुतिर तान्दै भन्न थाले –“शिक्षा क्षेत्रमा शेयर हाल्नुस्, अब त अनलाइन शिक्षाको जमाना हो, भौतिक संरचना र सवारीमा लगानी कम गरे पुग्छ, तपाईंजस्तो पाटनर जोड्न हामीलाई रहर छ ।”
अनि अर्का १ जना साथीले थपे -“हामी त नयाँ कम्पनी खोल्दैछौँ, पहिलो लगानीकर्तालाई १०० प्रतिशत लाभ दिन्छौं, भविष्य चम्कन्छ, लगानी गर्नुस ।” अनि त्यहीँ टि सपमा सेयर बजारका बादसाह भेटिए । अहिले लगानी नगरे पछुताउनुहुन्छ, बजारले त फट्को मार्दैछ ।”
चियाको चुस्कि सकिनै लाग्दा एउटा बैंकको कर्मचारी पनि भेटिए -“हाम्रो डबल क्यास अफरमा छ, खाता खोल्नुस्, डबल पैसा र बोनस पाइन्छ ।” पछि त के भन्नु, जग्गा व्यवसायी पनि आए -“जग्गा लिएर बस्नुस्, सुनको टुक्रा हो यो । आज नलिनु भनेको जीवनभर पछुताउनु हो ।”
अनि म सोच्छु -“यी सबैका योजना छन्, सपना छन्, अफर छन्, तर यी सपनाहरू हेर्नको लागि एउटा समान कुरा चाहिन्छ पैसा । तर मसँग छैन ।”
अहिले यस्तो भइसक्यो कसैले गाडी चढ्नुस् भन्छ, कसैले बीमा गर्नुस् भन्छ, कसैले सेयर किन्नुस् भन्छ, कसैले कम्पनी खोल्न पैसा हाल्नुस् भन्छ, तर मैले आफ्नो खल्ती हेर्छु, अनि सोच्छु -“साँच्चै सानोतिनो ऋण लिएर ब्याज तिर्न नसकेर मोबाइलमा ‘सावधान’ अन्तिम किस्ता भन्ने म्यासेज आउँनेलाई माथिका अफर कथा हुन ।
हामी सपना देख्न बाध्य छौं, तर सपना पूरा गर्ने संसाधनहरू त थोरै मात्र छन् । त्यसैले मैले भन्ने गर्छु आजकल सबैको सल्लाह लिनुस तर निर्णय तपाईंको होस् । “सपना देख्नु पनि त लक्जरी हो, पैसा नभए पनि तपाईंको मन अमिर छ भने यो नै हो तपाईंको लगानी बिना पैसाको ।”















