तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको मूल गेटमै राहत शिक्षकहरु धर्नामा बसेका छन् ।
गत वर्ष शिक्षक महासंघले २० चैतदेखि २९ दिन काठमाडौंमा सडक आन्दोलन गरेको थियो । उक्त आन्दोलनका क्रममा राखिएका मागहरू पूरा नभएकोले धर्नामा बसेको नेपाल राहत शिक्षक स्थानीय कार्यसमिति तुलसीपुरका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आज दाङसहित देशभरका ७५३ वटै स्थानीय तहमा एकैपटक धर्ना कार्यक्रम भइरहेको छ ।
बिगतमा भएका सम्झौता अनुसार समपूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापन गर्न शिक्षा समिति तयार नदेखिएकोले व्यापक विद्राहको तयारी स्वरुप आज पालिकामा धर्नामा बसेको शर्माले बताउनुभयो । अहिले तुलसीपुर उपमहानगरपालिकाको मूल गेटमै सबै राहत शिक्षकहरु धर्नामा बसेको शर्माले रेडियो हाम्रो पहुँचलाई जानकारी दिनुभयो ।
शर्माका अनुसार धर्नाले पालिकाको दैनिक काममा कुनै अवरोध नगरेको र कार्यक्रम आज साँझ ५ बजेसम्म चल्नेछ । साँझ ५ बजे केन्द्रीय समिति बैठक बसेपछि, केन्द्रको निर्देशनअनुसार आगामी कार्यक्रम अगाडि बढाइने पनि उहाँले जानकारी दिनुभयो ।















