२०८२ माघ ५ गते सोमवार

खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको गुनासोपछि तत्काल मर्मत

दाङ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानरपालिका–१२ टरिगाउँ एयरपोर्ट आसपासको सडकमा खानेपानीको पाइप विस्तार गर्दा परेका खाल्डाखुल्डीको मर्मत गरिएको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले बबई लिफ्टिङ्गको पानी तुलसीपुरसम्म ल्याउन पाइप विस्तारको काम गर्दा खाल्डाखुल्डी परेको थियो ।

खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको स्थानियको गुनासो पछि तुलसीपुर खानेपानी संस्थाले तत्कालै मर्मत गरेको छ । गत बैशाख–जेठमा पाइपलाइन विस्तारका क्रममा परेका खाल्डाखुल्डी आज सोमबार मर्मत गरिएको हो ।

खानेपानी संस्थाका अध्यक्ष यमकान्त भण्डारीले वर्षाका कारण तत्काल कालोपत्रे गर्न नसकिए पनि ग्राबेल हालेर सडक मर्मत गरिएको बताउनुभयो । बर्खाको समयपछि कालोपत्रेको काम गरिने अध्यक्ष भण्डारीले बताउनुभयो ।

भण्डारीका अनुसार पाइपलाइन विस्तारका क्रममा चार स्थानमा सडक खनिएको थियो । यस्तै सडक मापदण्ड अनुसार सडकको बीच भागबाट कम्तीमा १० मिटर छोडेर पाइप विस्तार गर्नुपर्ने भए पनि कतिपय स्थानमा ५–६ मिटरमै पाइप राखिएको पाइएको छ । अध्यक्ष भण्डारीले भने अधिकांश ठाउँमा १०/१५ मिटर छोडेर पाइपलाइन विस्तार गरेको बताउनुभयो । कुनै ठाउँमा सडक नजिकै घर, गोठ, पर्खाल भएकाले त्यस्तो समस्या भएको उहाँले भनाई छ ।

स्थानीयवासीको अवरोधको कारणले त्यस्तो समस्या आएको उहाँले बताउनुभयो । आफूहरुले एक्लैले त्यो समस्या समाधान गर्न नसक्दा कुनै कुनै ठाउँमा ५, ६ मिटर छोडेर बाटो पाइप विस्तार गरेको बताउनु भएको छ ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र बहादुर बिष्टले खानेपानी संस्थाले सडक मर्मत गर्ने सहमति अनुसार नै पाइप विस्तारको काम गरेको बताउनुभयो ।

उहाँले पाइपलाइन विस्तार गर्दा यदि मापदण्डको पालना नगरी काम गरिएको पाइएमा भविष्यमा सडक विस्तार गर्दा सम्पूर्ण क्षतिपूर्ति खानेपानी संस्थाले नै व्यहोर्नुपर्ने बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस