२०८३ साउन ८ गते शुक्रवार

सल्यानमा १ वर्षमा २३० अपराधका मुद्दा


दाङ । जिल्ला प्रहरी कार्यालय सल्यानले आर्थिक वर्ष २०८२/०८३ मा अपराध नियन्त्रण, अनुसन्धान, फैसला कार्यान्वयन तथा सामुदायिक सचेतनामा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार एक वर्षमा जिल्लाभर २३० वटा अपराधका मुद्दा दर्ता भएका छन् भने चालु र पुराना गरी कुल २८७ मुद्दा फछ्र्योट गरिएको छ ।

यस अवधिमा विभिन्न अपराधमा संलग्न १७८ जना अभियुक्त पक्राउ परेका छन् । साथै अदालतबाट दोषी ठहर भई फरार रहेका ११७ जना प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ ।

दर्ता भएका मुद्दामध्ये ५८ वटा जघन्य तथा गम्भीर प्रकृतिका रहेका छन् । तीमध्ये ३ कर्तव्य ज्यान, १५ ज्यान मार्ने उद्योग, १७ जबरजस्ती करणी, ७ वटा जबरजस्ती करणी उद्योग, १० सवारी ज्यान, २ हतियार तथा खरखजाना र ४ विद्युतीय कसुरका मुद्दा रहेका छन् ।

प्रहरी निरीक्षक देवराज भट्टराईले आर्थिक अपराधतर्फ ३९ तथा सामाजिक अपराधतर्फ २८ र अन्य शीर्षकका ९८ वटा मुद्दा दर्ता भएको बताउनुभयो । आर्थिक सम्बन्धी ३४ वटा बैङ्किङ कसुर, ४ वटा ठगी, १ वटा जुवा र ७ वटा बहुविवाहका मुद्दा छन् ।

लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले ७ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर, १३६ ग्राम ९७० मिलिग्राम चरेस, ९५० ग्राम सुकेको गाँजा, ४० ग्राम हरियो गाँजा तथा ८ वटा लागूऔषधजन्य ट्याब्लेट बरामद गरेको छ । २२ जनालाई पक्राउ गरेको जनाएको छ । यस्तै, आर्थिक वर्षभर जिल्लामा ५१ जनाले आत्महत्या गरेको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ ।

प्रहरीले विभिन्न कारबाहीका क्रममा ८५ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । त्यस्तै, वर्षभर ८७ थान अवैध हतियार, जसमा ८५ नाल बेवारिसे भरुवा बन्दुक र २ नाल व्यक्तिसहित बरामद गरिएको प्रहरीले जनाएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्षभर ६४७ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । आत्महत्या न्यूनीकरण, बालविवाह, लागूऔषध, साइबर अपराध, ट्राफिक सुरक्षा, मानव बेचबिखन, घरेलु हिंसालगायतका विषयमा सञ्चालन गरिएका कार्यक्रममा २५ हजार ७३४ जना नागरिक सहभागी भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस