२०८२ मङ्सिर २७ गते शनिवार

पत्रकार महासंघ दाङमा तीज मिलन कार्यक्रम


दाङ, । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले चाडपर्वहरूलाई आडम्बररहित, सरल र कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा प्रमुख अतिथि रहेका सचिव प्रियासनले पर्वहरू रमाइलो, संस्कृतिको संरक्षण र सामाजिक सद्भाव बढाउने माध्यमका रूपमा मनाउनुपर्ने बताउनुभयो । तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने उहाँको भनाई छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य लिला शाहले महिलाहरूका लागि तीजले आत्मबल, उमङ्ग र उत्साह दिने अवसर निर्माण गर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्माले पर्वले ल्याउने सामाजिक एकताको पक्षमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले तीज मिलन जस्ता कार्यक्रमले पत्रकारबीचको आत्मीय सम्बन्ध बलियो हुने बताउनुभयो । पत्रकार महासङ्घले केवल पेशागत अधिकारका लागि मात्र होइन, सामाजिक र सांस्कृतिक क्षेत्रको संरक्षणका लागि पनि जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभयो । महिला विभागले आयोजना गरेको यो कार्यक्रमले दाङ जिल्लामा महिला पत्रकारहरूको सक्रियता र सहभागिता झल्काउने बताउनुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतमले तीजलाई महिला सशक्तीकरणसँग जोडेर बुझ्नुपर्ने बताउनुभयो । उहाँले तीज महिलाहरूको साझा उत्सव भएकाले महिलाहरूले आफ्ना समस्या, सपना र संघर्षलाई गीतमार्फत अभिव्यक्त गर्ने बताउनुभयो ।

प्रेस सेन्टरका केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्यले तीज पर्वले महिला पत्रकारहरूको हौंसला बढाउने बताउनुभयो । पत्रकार महिलाहरूले पेशागत दायित्वसँगै संस्कृतिको जगेर्नामा पनि सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । आजको कार्यक्रममा देखिएको उत्साहले आगामी दिनमा महिला विभागलाई अझ सबल बनाउन सहयोग पुग्ने उहाँको भनाई छ ।

क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य सुशीला आचार्यले तीजले वर्गीय र सामाजिक समानता स्थापना गर्न सन्देश दिने बताउनुभयो । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य सुदर्शन रिजाले तीज मिलनजस्ता कार्यक्रमले पत्रकारबीच आपसी सम्बन्ध र समझदारी बलियो हुने धारणा राख्नुभयो ।

महिला विभागका प्रमुख तथा महासङ्घ दाङ शाखाका उपाध्यक्ष नारायणी रजौरेको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रियासनको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य लिला शाहको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

महिला विभागका सदस्य सरीता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण रमा नेपालीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस