तुलसीपुर । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले करिब ४० वर्षपछि मात्रै बरुवा गाउँमा महतवा चुनिएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका–६ बरुवा गाउँमा भूह्याँरथान भवनको उद्घाटन गदै उहाँले महतवा चुनिएसँगै भूह्याँरठान निर्माण भएको बताउनुभयो ।
पूर्व मुख्यमन्त्री चौधरीका अनुसार हालसम्म लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया लगायत थारुबाहुल्यता रहेका जिल्लामा करिब ४ सय भूह्याँरथान बनेका छन् भने अझै करिब २ सय स्थानमा निर्माण गर्न कार्य बाँकी रहेको छ । थारुहरुकोे विवाहलगायत सामाजिक संस्कारमा पनि भूह्याँरथान आवश्यक हुने भएकाले यसले सबै समुदायलाई सहजता दिने बताउनुभयो । साथै उहाँले यो वर्ष बरुवागाँउमा दशैमा सख्या नाच हेर्न पाउँने आशा लिएको बताउनुभयो ।

पर्यटन डिभिजन कार्यालयको ७ लाख र स्थानीयवासीबाट संकलन गरिएको १ लाख ५० हजारसहित करिब ८ लाख ५० हजार रुपैयाँ लागतमा भवन निर्माण भएको समितिका सचिव नारायण चौधरीले जानकारी दिनुभयो । भवन बनेपनि शौचालय, खानेपानीजस्ता आधारभूत संरचना निर्माण गर्न बाँकी रहेको उहाँले बताउनुभयो । बाँकी संरचना निर्माणका लागि बजेट विनियोजन गर्ने पूर्व मुख्यमन्त्री चौधरीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व योजना आयोगका उपाध्यक्ष डा. नहकुल सुवेदीले भूह्याँरथानले सांस्कृतिक सम्पदा जगेर्नामा सहयोग गर्ने बताउनुभयो । महतवा महासंघ तुलसीपुरका नगर अध्यक्ष बुझौना थारुले यो वर्ष मात्रै तुलसीपुरमा १२ वटा गाउँमा भूह्याँरथान बनेको र वडा नम्बर ६ भित्र पाँच वटा थान निर्माण भएको जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिका भित्रका १२६ थारु गाउँमध्ये अधिकांशमा भूह्याँरथान निर्माण भइसकेको भए पनि केही गाउँमा अझै महतवा विहीन रहेको बताउनुभयो
कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति सुरेश हमालले थारु समुदायको कला, संस्कृति र परम्परालाई जोगाउन भूह्याँरथानले सहयोग गर्ने बताउनुभयो । नमुना भूह्याँरथान जबरपुरका अध्यक्ष तथा अधिवक्ता रामशरण चौधरीले भूह्याँरथानले थारु समुदायमा आपसी सद्भाव र मेलमिलाप कायम गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
थारु अगुवा छोटिलाल थारु, तरुण दलका नगर अध्यक्ष कमल घर्ती, बुद्धिजीवी लिलाधर लम्साल, नेपाल थारु संघका केन्द्रीय सदस्य इन्द्र चौधरी, गणेश चौधरीले भवन बनेपछि पूजाआजा गर्ने क्रममा सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा महतवा गोपाल चौधरी, थारु अगुवा कुलबहादुर चौधरी, बरुवा गाउँ टोल विकास संस्थाका अध्यक्ष नेत्र वलीले भूह्याँरथान सबै समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
बरुवागाँउ भूह्याँरथान समितिका अध्यक्ष सन्तोष चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सदस्य गंगाबहादुर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव नारायण चौधरीले गर्नुभएको हो ।












