दाङ । गर्भवती आमा र शिशुको स्वास्थ्यलाई प्राथमिकता दिँदै तुलसीपुर उपमहानगरपालिका–१६ ले निःशुल्क क्याल्सियम वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ । असोज २०८१ देखि सुरु गरिएको यो कार्यक्रममा वडा भित्रका सबै गर्भवती महिलालाई लक्षित गरिएको छ ।
गर्भवती महिला र शिशुको पोषण सुधारको लागि निःशुल्क रुपमा क्याल्सियम उपलब्ध गराएको वडा अध्यक्ष शिवानन्द डाँगीले जानकारी दिनुभयो ।
क्याल्सियमको कमीका कारण हुने हड्डीसम्बन्धी समस्या, उच्च रक्तचाप, तथा अन्य स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न निःशुल्क क्याल्सियम कार्यक्रमले आमा र शिशु दुबैलाई सहयोग पुग्ने अध्यक्ष डाँगीको भनाई छ । स्वस्थ आमा र स्वस्थ शिशुको सुनिश्चितता गर्नु लक्ष्य रहेको उहाँले बताउनुभयो ।

यो कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामध्ये वडा नम्बर १६ ले मात्रै सञ्चालन गरिरहेको छ । नेपालको स्वास्थ्य प्रोटोकल अनुसार नै गर्भवती महिलाहरुलाई क्याल्सीयम दिने गरेको नगर स्वास्थ्य केन्द्र लक्ष्मीपुरका प्रमुख विष्णु क्षेत्रीले जानकारी दिनुभयो ।
क्याल्सियमले बच्चाको हड्डी, दाँत र नङलाई बलियो बनाउन मद्दत गर्नुका साथै गर्भावस्थामा हुने रक्तचाप नियन्त्रण, हड्डी दुखाइ, मांसपेशी खिचिने समस्या घटाउने, दीर्घकालमा ओस्टियोपोरोसिस (हड्डी कमजोर हुने रोग) को जोखिम कम हुने प्रमुख क्षेत्रीले बताउनुभयो ।

स्वास्थ्यको आफ्नो भवन नहुँदा समस्या थियो तर अहिले आफ्नै भवनमा सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।
स्वास्थ्यसँगै वडाले शिक्षा क्षेत्रमा पनि उदाहरणीय काम गर्दै आएको छ । अध्यक्ष डाँगीका अनुसार सरकारी विद्यालयमा विगतमा देखिएको हिनताबोधलाई अन्त्य गर्दै सामुदायिक विद्यालयप्रति विश्वास बढाउन सफल भएको छ ।
शिक्षा क्षेत्रमा सरकारी विद्यालयको भौतिक संरचना सुधार, पर्खाल र शौचालय निर्माण, पठन–पाठन सामग्री वितरण र विद्यार्थीहरूको अतिरिक्त गतिविधि प्रोत्साहनका लागि पुरस्कार कार्यक्रम सञ्चालन गरिएको छ ।
वडामा चार वटा विद्यालय रहेका छन्, जसमा एउटा संस्थागत र तीन वटा सामुदायीक विद्यालय रहेको छ । लक्ष्मी माविमा आफु निर्वाचित भएर आएसंगै शैक्षिक सुधार आएको डाँगीले बताउनुभयो ।
यस वर्षको एसईई परीक्षामा लक्ष्मी माविबाट परीक्षा दिएका ४६ मध्ये ४५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाबाट उत्कृष्ट विद्यालयको सम्मान समेत विद्यालयले प्राप्त गरेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चार कोठे भवन बनेको छ भने अहिले ११ कोठे पक्की भवन निर्माण भइसकेको छ ।
अहिले विद्यालयमा विद्यार्थीहरुको संख्या पनि बढेको छ । पहिले १५० जना रहेकामा अहिले करिब ३५० जना विद्यार्थी संख्या पुगेको छ । आगामी वर्ष पाँच सय विद्यार्थी पुर्याउने कार्ययोजना बनाएको वडाले जनाएको छ ।
वडाले कृषकलाई सुविधा पुर्याउने उद्देश्यले ठूला–ठूला सिंचाइ आयोजनामा लगानी गरेको छ । मलवारे कुलोमा २ करोड बराबरको पक्की नहर निर्माणको काम सम्पन्न भइसकेको छ ।
गत वर्ष मलवारे कुलामा २ करोड बराबरको पक्की नहरको काम सम्पन्न गरेको वडा अध्यक्ष डाँगीले बताउनुभयो । रेखा शर्माको पहलमा केन्द्रबाट यस वर्ष पनि मलवारे कुलाको सिंचाइ नहर लाइनिङ गर्नका लागि ३ करोड बजेट प्राप्त गरेको छ । यस भन्दा पहिले केन्द्रिय बजेटबाट वुहत सिंचाइको माध्यमबाट करिब २ करोड बराबरको लाइनिङको काम सम्पन्न भएको वडाले जनाएको छ । १७ वटा गाँउका नागरिकहरुले मलवारे कुलोको पानिले खेति गदै आएका छन् ।
डुरुवा कुलामा १ करोडको टेण्डर भइसकेको छ । खेतिपातिलाई सहज बनाउनको लागि कुलाको बाँध निर्माण, नहर निर्माण गर्ने काम भएको वडाले जनाएको छ ।
मुल नहर बाहेक वडाले भित्रि नहरहरु पनि निर्माण गरेको छ । उत्तर कुररीया, टिक्रा लहलौरा, भेलाही, लालपुर, लहलौरा, लक्षिनपुर, साइपुर लगायतको ठाँउमा गरी अहिलेसम्म करिब ६ करोडमा सहायक नहरहरु निर्माण गरेको अध्यक्ष डाँगीले बताउनुभयो । सात वटा योजना सम्पन्न हुँदा करिब पाँचसय घरधुरी लाभान्वित भएका छन् ।
वडाका सबै नागरिक खानेपानी र विद्युत सेवाको पहुँचमा रहेका छन् । ६ वटा खानेपानी आयोजना सञ्चालनमा छन् भने पछिल्ला तीन वर्षमा करिब ३०० नयाँ पोल विस्तार गरिएको छ । यसै वर्ष थप २०० पोल विस्तारका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
पूर्वाधार विकासमा पनि वडा अगाडि रहेको छ । तीन वर्षमा वडाले आफ्ना चुनावी प्रतिबद्धतामध्ये ७० प्रतिशत पुरा गरेको दाबी गरेको छ ।
प्रदेश र केन्द्रको सहयोगमा हालसम्म साढे ४ किलोमिटर सडक पिच गरिएको छ । वडाभित्रका मुख्य सडकमा ग्राभेल र कालोपत्रे, ढल निकास व्यवस्थापनको काम सम्पन्न गरेको छ ।
पुकार पसलबाट जोगिडाँडा सम्म पुरानो भोजपुर जाने बाटोमा नाला सहितको करिब २ करोड ५० लाख बराबरको केन्द्र्रिय बजेटबाट ढाइ किलोकिटर बाटो कालोपत्रे भएको छ । पुकार पसलबाट टिक्रा लहलौराको चौधरी गाँउसम्म सडक कालोपत्रे भएको वडाले जनाएको छ ।
अब १ किलोमिटर बाटो पिच गर्न बाँकी रहेकाले त्यो काम यो वर्ष पुरा हुने अध्यक्ष डाँगीले बताउनुभयो । वडा नम्बर १५, १६ र १८ लाई जोड्ने बिजौरीको जनता संस्कृत विद्यालबाट बासडबरा, लक्षिणपुर, सज्नेवा, टिक्रा लहलौरा, कुररीया हुँदै १५ नम्बर वडाको कोट्टेडाँडा जाने साढे १५ किलोमिटर बाटो निर्माणका लागि एडिबिबाट बजेट विनियोजन भएको वडाले जनाएको छ । टेण्डर भएर काम गर्ने अन्तिम प्रक्रिया रहेको छ ।
बाटो निर्माणको लागि गत वर्षको ६४ करोड र अहिलेको १२ करोड गरेर ७६ करोड रुपैया विनियोजन भएको छ । ४२ करोडमा टेन्डर परेको वडाले जनाएको छ । यस्तै भेलाही देखि रत्गै जोड्ने बाटोमा पौने २ किलोमिटर पिच भएको छ ।
उहाँले पूर्व वडा अध्यक्षले सुरु गरेको लालपुरबाट पूर्वतिर जाने १ मिलोमिटर बाटो निर्माणको लागि प्रदेशबाट २० लाख वडाको गौरवको योजना मार्फत ५० लाख रुपैंया बजेट विनियोजन गरेको जानकारी दिनुभयो । अब असोज कार्तिकमा टेण्डर गरेर बाटो कालोपत्रेको काम गर्ने योजना बनाएको छ ।
चालु वर्षमा केन्द्रिय बजेटबाट रेखा शर्माको पहलमा मजगाँउबाट डोक्रेनी हुँदै कुररीया जोड्ने बाटो निर्माणको लागि ३ करोड बजेट वडाले प्राप्त गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाका–१९ वटा वडा मध्ये सबै भन्दा धेरै लक्षीत वर्गका लागि बजेट टुट्याउने पहिलो वडा १६ नम्बर बनेको छ । वडाले युवा, जेष्ठ नागरिक,दलित, अपाङगता भएका व्यक्ति, लगायतको कार्यक्रममा गत वर्ष १७ लाख ७० हजार रुपैया विनियोजन गरेको थियो ।
लक्षित वर्गका लागि सबैभन्दा बढी बजेट छुट्याउने वडाका रुपमा गत वर्ष उपमहानगरपालिकाले वडालाई सम्मान पनि गरेको थियो । विनियोजन गरेको बजेटबाट युवाहरुलाई उद्यमसंग जोड्ने कार्याक्रम, कटाइ सिलाई, ढकिया बुनाई लगाएतका विभिन्न तालिमहरु सञ्चालन गरेको जनाएको छ ।
चालु वर्षमा पालिका बाटै बजेट घटेर आएकोले १२ लाख बजेट विनियोजन गरेको वडाले जनाएको छ । युवाहरुलाई आम्दानीसंग जोडनको लागि विभिन्न कार्यक्रम गदै आएको वडा अध्यक्ष डाँगिले बताउनुभयो ।
कृषि उत्पादनमा पनि अगाडी रहेको छ । वडामा करिब १ हजार ८ सय बिगाह खेतियोग्य जमिन रहेको छ । मकै, तरकारी, धान खेति लगायत विभिन्न खेति हुने गरेको छ ।
नागरिकहरु समूह बनाएर तरकारी खेति गदै आएका छन् । रत्गैमा रहेको मिलिजुली समूहमा आबद्ध एक घरले वार्षिक रुपमा बेसिजनमा करिब ३ लाख रुपौया आम्दानी गदै आएका छन् ।
समूहलाई वडाले गत वर्ष एक लाख ३० हजार बराबरको मोटर र पाइप उपलब्ध गराएको थियो । किसानहरुलाई अर्गानिक खेति गर्नको लागी गड्यौलाको मल उत्पादन गर्न तालिम प्रदान गरेको छ ।
रावत गाँउमा पनि किसानहरुले समूह बनाएर यो वर्षदेखि तरकारी खेति गदै आएका छन । समूहले माग गरे अनुसारको सामाग्री उपलब्ध गराउने वडाले जनाएको छ ।
वडाले कृषि क्षेत्रमा किसानलाई आधुनिक खेतीका तालिम, बीउ–विजन, मल तथा सिँचाइका सामग्री वितरण गदै आएको छ ।
वडा कार्यालयले सेवाग्राहीलाई सहज सेवा दिने लक्ष्यसहित “मुस्कानसहितको सेवा” अभियान सञ्चालन गरेको छ । प्रत्येक महिनाको अन्तिम शुक्रबार बैठकमार्फत नागरिकसँग प्रत्यक्ष छलफल गर्ने अभ्यासले पारदर्शिता बढाएको छ ।
साथै वडाले राजश्व संकलनमा पनि वृद्धि गरेको छ । आफुहरु वडामा निर्वाचित भएर आएसंगै राजश्व संकलनमा वृद्धि गरेको अध्यक्ष डाँगीले बताउनुभयो ।
उहाँले वडामा पहिले सबै भन्दा धेरै भनेको २८ लाख सम्म राजश्व संकलन भएको त्थयाङक रहेको बताउनुभयो । तर आफु आएको पहिलो वर्षमा नै वडाले ३८ लाख ५० हजार राजश्व संकलन गरेको बताउनुभयो ।
दास्रो वर्षमा पनि सोही बराबर राजश्व संकलन गरेको वडाले गत वर्ष भने ३२ लाख संकलन गरेको छ । एैलानी जग्गाको पूर्जा बनाउने कार्यक्रम भएकाले कम राजश्व संकलन भएको वडाले जनाएको छ ।














